फिल्म । गत शुक्रबार सार्वजनिक भएको फिल्म ‘झिंगे दाउ २’को टिजर सामाजिक सञ्जालमा आक्रामक रूपमा फैलिएको छ । टिजरले युट्युबमा मात्रै १० लाख भ्यूज पार गरेको छ । दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएसँगै टिजरले छोटो समयमै लोभलाग्दो भ्यूज पाएको हो। यता, फेसबुक र टिकटकमा समेत टिजरलाई १ करोडभन्दा बढी पटक हेरिएको निर्माण पक्षले जनाएको छ।
टिजरमा समावेश अभिनेत्री केकी अधिकारी र आँचल शर्माबीचको झगडाको दृश्य सामाजिक सञ्जालमा चर्चित बनेको छ। विशेषगरी रुखमा दुई अभिनेत्रीबीच भएको झगडाको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको फिल्मको टिजरमा जेठानी–देउरानीबीचको झगडा, दाजुभाइको कलह तथा आमाको छटपटीलाई प्रस्तुत गरिएको छ। आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मले बक्स अफिसमा सुखद व्यापार गर्ने अनुमान फिल्म वृत्तमा हुन थालेको छ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई एप्पल इन्टरटेनमेन्टले नेपालभर वितरण गर्नेछ। सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको फिल्ममा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह-निर्माताका रूपमा रहेका छन्।
विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी. गुरुङको सम्पादन छ। ईश्वर घिमिरेले प्रोडक्सन म्यानेजमेन्ट सम्हालेका छन्। फिल्ममा अर्जुन घिमिरेको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ। परिच्छेद सेनले पटकथा तथा संवाद लेखेका छन्।
गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन रहेको फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्ने अपेक्षा निर्माण पक्षले गरेको छ। यसपटक निर्देशक देउजाले पारिवारिक कलहसँगै आमाको महत्त्वलाई फिल्मको मुख्य विषय बनाएका छन्। टिजरमा देखाइएको आँचल र केकीबीच रुखमा भएको झगडाको दृश्य भने दर्शकमाझ सबैभन्दा बढी चर्चित बनेको छ।










