‘बाटुलो जून’को रोमान्टिक गीत ‘पानी पर्‍यो’ सार्वजनिक

फिल्म । गत सातादेखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आएको फिल्म ‘बाटुलो जून’मा समावेश रोमान्टिक गीत ‘पानी पर्‍यो’ सार्वजनिक भएको छ। निर्माण टिमले फिल्म प्रदर्शनमा आएको एक सातापछि गीतलाई युट्युबमार्फत सार्वजनिक गरेको हो। गीतमा फिल्मका दुई पुस्ताको प्रेमकथालाई प्रस्तुत गरिएको छ। अभिनेता अनमोल केसी र अभिनेत्री प्रिन्सी खतिवडाले युवा पुस्ताको प्रेमभाव प्रस्तुत गरेका छन् भने निर्देशक तथा अभिनेता भुवन केसी र अभिनेत्री गरिमा पन्तबीच अधबैंसे उमेरको प्रेम देखाइएको छ।

नेपाली फिल्म क्षेत्रमा सदाबहार स्टारको छवि बनाएका भुवन केसी लामो समयपछि रोमान्टिक अवतारमा दर्शकमाझ देखिएका छन्। पुराना नेपाली फिल्मका रोमान्टिक हिरोका रूपमा परिचित भुवन म्युजिक भिडियो इतिहासमा पहिलो मोडलका रूपमा समेत चिनिन्छन्।

सार्वजनिक गीतले फिल्मको कथालाई थप मिठास र पूर्णता दिने निर्माण टिमको विश्वास छ। निर्देशक भुवन केसीले गीतलाई फिल्मको उत्कृष्ट प्रस्तुतिमध्ये एक भन्दै स्वादिष्ट भोजनपछि खाइने मिठो परिकार (डेजर्ट)सँग तुलना गरेका छन्। ‘यो गीत फिल्मको उत्कृष्ट प्रस्तुतिमध्येको एक हो, जसले स्वादिष्ट भोजनपछिको मिठासिलो परिकार (डेजर्ट)को अनुभूति गराउँछ,’ निर्देशक केसीले भने।

सनराइज पिक्चर्स प्रालि र भविष्य फिल्म्सको ब्यानरमा निर्माण भएको ‘बाटुलो जून’का निर्माता जिया केसी र भविष्य खड्का हुन्। फिल्ममा अनमोल केसी, प्रिन्सी खतिवडा, भुवन केसी र गरिमा पन्तसँगै नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई, श्वेता मिश्र, सुजन भाइ, सविन कट्टेल, सिद्धार्थ सिंह, अमितेश शाह, हीना नगरकोटी र संगी अधिकारी पोखरेललगायत कलाकारको अभिनय छ। विवेक थापा सहनिर्माता हुन्।

फिल्मको सम्पादन कृष्ण भण्डारीले गरेका छन्। लेखनमा सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले सहकार्य गरेका छन्। फिल्ममा रोमन बज्राचार्यको पार्श्व संगीत रहेको छ भने प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक हुन्।

कमेन्ट गर्नुहोस्