क्यूएफएक्सले ‘बाटुलो जून’लाई दियो सुपरहिट ट्याग

फिल्म । नेपाली फिल्मको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले प्रदर्शनरत फिल्म ‘बाटुलो जून’लाई सुपरहिट घोषणा गरेको छ। गत कात्तिक २६ गतेदेखि प्रदर्शनमा रहेको फिल्मलाई क्यूएफएक्सले बुधबार सुपरहिटको ट्याग दिएको हो।

बुधबार दिउँसो क्यूएफएक्सले आफ्नो आधिकारिक वेबसाइटमा फिल्मलाई ‘सुपरहिट’को सूचीमा राखेको छ। क्यूएफएक्स चेनअन्तर्गत प्रदर्शनको पहिलो दुई सातामै २ करोड ५० लाख रुपैयाँभन्दा बढीको व्यापार गर्ने फिल्मलाई सुपरहिट ट्याग दिने गरिएको निर्देशक तृप्ती गिरीले बताइन्।

फिल्मले प्रदर्शनको सुरुवातदेखि नै राम्रो व्यापार गर्दै आएको छ। बलियो वर्ड अफ माउथका कारण दर्शक आकर्षण बढिरहेको फिल्मले अन्तर्राष्ट्रिय बजारमा समेत उच्च अकुपेन्सी कायम गरेको छ।

भुवन केसीको निर्देशनमा बनेको फिल्ममा अनमोल केसी, प्रिन्सी खतिवडा र गरिमा पन्त मुख्य भूमिकामा छन्। निर्देशकसहित प्रमुख कलाकारको टोली यतिबेला दर्शकको प्रतिक्रिया लिन मोफसल केन्द्रित प्रचारप्रसारमा व्यस्त छ।

उपत्यका र उपत्यकाबाहिरका विभिन्न हलमा फिल्म उच्च अकुपेन्सीसहित प्रदर्शन भइरहेको निर्माण पक्षले जनाएको छ। सनराइज पिक्चर्स र भविष्य फिल्म्सको ब्यानरमा निर्माण भएको ‘बाटुलो जून’ले प्रदर्शनको सुरुवातदेखि नै दर्शकको राम्रो साथ पाइरहेको छ।

कमेन्ट गर्नुहोस्