ओटीटीमा आयो ‘अब्सेसन’

ओटीटी । विश्वव्यापी रूपमा आक्रामक व्यापार गर्दै चर्चामा आएको हलिउड हरर फिल्म ‘अब्सेसन’ ओटीटी प्लेटफर्म जिओहटस्टारमा सार्वजनिक भएको छ । गत अक्टोबर ३० देखि स्ट्रिमिङमा आएको फिल्मको हिन्दी डब संस्करणसमेत उपलब्ध छ ।

विश्वव्यापी रूपमा ४६० मिलियन डलर कमाइ गरेको बताइएको यस फिल्मलाई क्युरी बार्करले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा माइकल जोनस्टन र इन्डे नाभारेते मुख्य भूमिकामा छन् । फिल्ममा जोनस्टनले बियर र नाभारेतेले निकीको भूमिका निर्वाह गरेका छन्। यसका साथै कुपर टमलिन्सन, मेगन ललेस र एन्डी रिक्टरलगायत कलाकारको अभिनय छ।

फिल्मको कथा सामाजिक रूपमा घुलमिल हुन कठिनाइ महसुस गर्ने एक युवक बियरको वरिपरि घुम्छ। संगीत पसलमा काम गर्ने बियरले आफ्नी सहकर्मी निकीलाई प्रेममा पार्न ‘वान विश विलो’ नामक रहस्यमय वस्तुको प्रयोग गर्छ। त्यसबाट निकीको प्रेम प्राप्त भए पनि सम्बन्ध विस्तारै डर, मनोवैज्ञानिक तनाव र नियन्त्रणबाहिर जाने आसक्तिमा परिणत हुन्छ।

प्रेम प्राप्त गर्ने चाहनाबाट सुरु भएको घटनाक्रमले अन्ततः भयावह रूप लिँदै जान्छ। सम्बन्धमा उत्पन्न हुने अत्यधिक निर्भरता र नियन्त्रणको चाहनालाई फिल्मले मनोवैज्ञानिक त्रासका रूपमा प्रस्तुत गरेको छ।

ब्लमहाउस र फोकस फिचर्सले निर्माण गरेको फिल्मको बजेट १० लाख अमेरिकी डलरभन्दा कम रहेको बताइएको छ। निर्देशक बार्करको यस परियोजनाको पृष्ठभूमि उनको चर्चित युट्युब छोटो फिल्म ‘द चेयर’सँग जोडिएको छ।

कमेन्ट गर्नुहोस्