‘दिमाग खराब’ लाई प्रिमियरमा तारिफ नै तारिफ

फिल्म । प्रदर्शनको पूर्व सन्ध्यामा ललितपुरस्थित एक चलचित्र भवनमा गरिएको ‘दिमाग खराब’को प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । साधारण व्यक्ति र नगरप्रमुख बीचको कथामा निर्देशक निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र हेर्न कलाकर्मीसँगै राजनीतिज्ञ, खेलाडी लगायत पुगेका थिए । चलचित्र हेरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले हेर्ने पर्ने चलचित्र रहेको बताए । उनले भने,‘यो हेर्नै पर्ने चलचित्र बनेको रहेछ । यसले राजनीतिको विभिन्न पाटोलाई उजागर गरेको छ । म यसको प्रचारमा बोलाउनु हुन्छ भने पनि आउन तयार छु ।’

प्रतिनिधी सभा उपसभामुख इन्दिरा रानाले एकअर्काको सहकार्यले जीवन सफल बनाउन सकिने पक्षलाई देखाइएको बताइन । उनले भनिन्,‘दम्पति वा साथीको कारणले जीवनमा प्राप्त गर्ने सफलतालाई यसले प्रस्ट्याएको छ । यो राजनीतिमा जीवन समर्पण गर्नु हुनेका लागि विशेष छ ।’

अभिनेता हरिवंश आचार्यले चलचित्रलाई दशमा दश अंक नै दिने बताए । ‘चलचित्र निकै राम्रो बनेको छ । यसले अहिलेकको परिस्थितिलाई पर्दामा चित्रण गरेको छ । त्यसैले यसलाई मैले पुरा नम्बर दिए’, अभिनेता आचार्यले भने ।

प्रिमियरमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, प्रतिनिधी सभा सदस्य सोबिता गौतम, बिनिता कठायत, नेपाल क्रिकेट संघ (क्यान) का महासचिव पारस खड्का, नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल, खेलाडीहरू कुशल भुर्तेल, सोम्पाल कामीलगायतको उपस्थिति थियो ।

चलचित्र ‘लूट’ निर्देशन गरेर नेपाली चलचित्रको कथ्य शैली र प्रस्तुतीकरण नै रुपान्तरण गर्न सफल निर्देशक बस्नेतले आफू र निर्माण समुहलाई विश्वास गरेर प्रदर्शनीमा सहभागी हुनुहुने सबैलाई धन्यवाद दिए । उनले भने,‘हामीले साधारण व्यक्तिको कथालाई पर्दामा ल्याएका छौँ । दैनिकीमा परिरहेको समस्या र जीवनलाई बुझ्न पाउनु हुनेछ भन्ने विश्वास छ ।’

चलचित्रमा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, विजय बराल, सुमन कार्की, अर्पण थापा लगायतको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्