‘रामायण’ को अग्रिम टिकट बिक्री २० करोड भारू नाघ्यो

फिल्म । भारतीय प्रतीक्षित फिल्म ‘रामायण’ले प्रदर्शनको १० दिनअघि नै विश्वव्यापी अग्रिम टिकट बिक्रीबाट २० करोड भारूभन्दा बढी आम्दानी गरेको छ ।भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार नोभेम्बर ५ देखि प्रदर्शनमा आउने फिल्मले अक्टोबर २५ सम्म अग्रिम टिकट बिक्रीबाट विश्वभर २० करोड भारूको आँकडा पार गरेको हो।

नितेश तिवारीको निर्देशनमा बनेको फिल्मले अग्रिम टिकट बिक्रीको सुरुवाती चरणमै दर्शकको उत्साहजनक प्रतिक्रिया पाएको छ। फिल्ममा रणवीर कपुर, यश र साई पल्लवी मुख्य भूमिकामा छन्।

समाचारअनुसार भारतमा मात्रै फिल्मको अग्रिम टिकट बिक्रीबाट १० करोड भारूभन्दा बढी आम्दानी भएको छ। भारतमा प्रदर्शनको पहिलो दिनका लागि दुई लाखभन्दा बढी टिकट बिक्री भइसकेको जनाइएको छ। फिल्मको हिन्दी संस्करणको अग्रिम टिकट बिक्री सबैभन्दा बढी छ। भारतमा भएको कुल अग्रिम टिकट बिक्रीमध्ये करिब ८७ प्रतिशत हिस्सा हिन्दी संस्करणले ओगटेको छ।

त्यस्तै, कन्नड संस्करणको अग्रिम टिकट बिक्री एक करोड भारूभन्दा बढी पुगेको छ। तेलुगु संस्करणको अग्रिम बुकिङ पनि ४० लाख भारू हाराहारीमा रहेको समाचारमा उल्लेख छ।भारतबाहिर उत्तर अमेरिकामा पनि फिल्मको अग्रिम टिकट बिक्री उत्साहजनक देखिएको छ। फिल्मको व्यापारसम्बन्धी तथ्यांक सार्वजनिक गर्ने वेबसाइट स्याकनिल्कका अनुसार उत्तर अमेरिकामा नोभेम्बर ४ मा हुने विशेष प्रदर्शनका लागि पाँच लाख ५० हजार अमेरिकी डलर बराबरका टिकट बिक्री भएका छन्।

त्यस्तै, विदेशमा नियमित प्रदर्शनको पहिलो दिनका लागि थप चार लाख अमेरिकी डलर बराबरका टिकट बिक्री भएको जनाइएको छ। यी सबै बजारको अग्रिम टिकट बिक्री जोड्दा अक्टोबर २५ सम्म फिल्मले विश्वव्यापी रूपमा २० करोड भारूभन्दा बढी आम्दानी गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

भारतीय पौराणिक महाकाव्य ‘रामायण’मा आधारित फिल्ममा रणवीर कपुर भगवान् राम, साई पल्लवी सीता र यश रावणको भूमिकामा छन्। त्यस्तै, रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा देखिनेछन्।

ठूलो बजेटमा निर्माण भइरहेको फिल्म दुई भागमा तयार पारिएको छ। यसको पहिलो भाग सन् २०२६ नोभेम्बर ५ (कात्तिक १९) मा विश्वव्यापी प्रदर्शनमा आउने तयारी छ। दोस्रो भाग भने सन् २०२७ को दीपावलीमा प्रदर्शन गरिने जनाइएको छ।

कमेन्ट गर्नुहोस्