सर्लाही-४ बाट कांग्रेस युवा नेता रघुवीर कार्की सर्वसम्मत महाधिवेशन प्रतिनिधि

देश । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा सम्पन्न क्षेत्रीय अधिवेशनबाट कांग्रेस युवा नेता रघुवीर कार्की केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन् ।

कार्की सर्लाहीबाट दोस्रो पटक महाधिवेशन प्रतिनिधि बनेका हुन् । क्षेत्रीय अधिवेशनबाट सर्वसम्मत चयन भएपछि प्रमाणपत्र ग्रहण गर्दै उनले बदलिएको कांग्रेसमा युवाको प्रतिनिधित्वले नयाँ ऊर्जा थप्ने बताए ।

उनले १५औँ महाधिवेशनपछि बन्ने कांग्रेसलाई युवामैत्री बनाउने आवश्यकता रहेको बताए । पार्टीको नेतृत्व र निर्णय प्रक्रियामा युवाको सहभागिता बढ्नुपर्ने उनको भनाइ थियो ।

नेपाल विद्यार्थी संघ हुँदै कांग्रेसको राजनीतिमा सक्रिय भएका कार्कीलाई सर्लाहीको बरहथवा नगरपालिकाको आगामी स्थानीय तह निर्वाचनमा नगरप्रमुखको उम्मेदवारका रूपमा अघि सार्नुपर्ने चर्चा स्थानीयस्तरमा हुन थालेको छ । बरहथवा नगरपालिका–४ का स्थायी बासिन्दासमेत रहेका कार्कीलाई स्थानीयले नगरप्रमुखमा उम्मेदवारी दिन सुझाव दिँदै आएका छन् ।

कार्कीले नेपाल विद्यार्थी संघको एकाइ समितिबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका थिए । त्यसपछि उनी नेपाल विद्यार्थी संघको जिल्ला सचिव हुँदै पशुपति क्याम्पसको सचिव बनेका थिए । उनी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यसमेत भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्