देश । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सर्लाही क्षेत्र नम्बर १ मा सम्पन्न क्षेत्रीय अधिवेशनबाट फिल्म निर्मात्री तथा समाजसेवी शर्मिला थापा सर्वाधिक मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्।
सहमतिको प्रयास असफल भएपछि गत मंगलबार सर्लाहीको बयलबासस्थित गल्ला व्यापार संघको भवनमा भएको निर्वाचनमा थापाले ६९७ मत प्राप्त गरिन्। उनले युवा महिलातर्फ उम्मेदवारी दिएकी थिइन्। उनकी प्रतिस्पर्धी कृष्मा भट्टराईले ४२८ मत प्राप्त गरिन्।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि निर्मात्री थापाले आगामी दिनमा कला क्षेत्रको हितका लागि नेपाली कांग्रेसमा सक्रिय भूमिका निर्वाह गर्ने बताइन्। उनले भनिन्, ‘नेपाली कांग्रेसले युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ। यसपटक मलगायत धेरै युवा महाधिवेशनमा सहभागी हुँदैछौँ। त्यहाँ हामीले युवाका समस्यालाई उठाउनेछौँ। साथै, म कला क्षेत्रसँग जोडिएको व्यक्ति भएकाले यस क्षेत्रको आवाजलाई बुलन्द रूपमा उठाउनेछु। नेपाली कांग्रेसलाई कला क्षेत्रमैत्री बनाउन मेरो भूमिका रहनेछ।’
निर्मात्री थापाले निर्माण गरेको फिल्म ‘आशा’ आगामी माघेसंक्रान्तिलाई लक्षित गर्दै माघ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।











