विदेशी फिल्मको झल्को दिने गरी काम गरेका छौँ : निखिल

फिल्म । अभिनेता तथा निर्देशक निखिल उप्रेतीले नेपाली फिल्ममा विदेशी फिल्मको प्रभाव कम गर्न विदेशी फिल्म रोक्नेभन्दा पनि नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने बताएका छन् । यही उद्देश्यले फिल्म ‘आचार्य’ निर्माण गरिएको उनले प्रस्ट्याए । खुला बजारमा विदेशी फिल्मको प्रदर्शन रोक्न नसकिने भन्दै निखिलले नेपाली फिल्मले प्रविधि, प्रस्तुति र विषयवस्तुका हिसाबले विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्नुपर्ने धारणा राखे ।

‘हाम्रो देशमा खुला बजार छ । विश्वभरिका फिल्महरू हामीकहाँ आउँछन् । धेरै महँगा फिल्महरू आउँछन् र ती हेर्ने स्वतन्त्रता पनि दर्शकलाई छ,’ उनले भने, ‘तर हामी गरिब छौँ भनेर मेहनतमा गरिब नहोऔँ।’

उनका अनुसार ‘आचार्य’को कथा नेपाली भए पनि यसको प्रस्तुति अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने प्रयास गरिएको छ । नेपाली कथालाई नेपालीपनमै राखेर आधुनिक प्रविधि र फरक सिनेमाटिक प्रस्तुतिमार्फत दर्शकमाझ लैजाने उद्देश्यले फिल्म निर्माण गरिएको उनले बताए । ‘हाम्रो मेहनत र कोसिसलाई बुझिदिनुभयो भने पनि ठूलो फरक आउँछ । तर दर्शकले माया गर्नु भनेर मात्रै हुँदैन, हामी मायाको लायक पनि हुनुपर्छ,’ उनले भने ।

निखिलले ‘आचार्य’लाई आफ्नो फिल्मी करियरकै प्राविधिक रूपमा महत्वाकांक्षी फिल्मका रूपमा प्रस्तुत गरेका छन् । फिल्ममा एनामर्फिक लेन्सको प्रयोगसँगै क्यामेरा वर्क, ब्लकिङ, स्टन्ट, ब्याकग्राउन्ड म्युजिक, साउन्ड इफेक्ट, एसएफएक्स तथा ग्राफिक्समा विशेष ध्यान दिइएको उनले बताए । ‘टेक्निकली हेर्दा त फर्स्टमै छ,’ आफ्नो समग्र फिल्म करियरमा ‘आचार्य’ को स्थानबारे उनले भने, ‘एनामर्फिक लेन्सले एउटा सिनेमा फिल गराउँछ । यसले सिनेमाटिक फिल गराउँछ ।’

फिल्मको बीजीएम, एसएफएक्सलगायत केही प्राविधिक काम भारतमा गरिएको उनले बताए। नेपाल र भारतमा छायांकन गरिएको फिल्ममा नेपालीसँगै भारतीय कलाकारलाई पनि समेटिएको छ।

भारतीय कलाकारलाई फिल्ममा समावेश गर्नुको उद्देश्य भारतीय बजारमा फिल्म बेच्नु मात्र नभई कथाको मागअनुसार पात्र चयन गरिएको निखिलको भनाइ छ। ‘भारतको विषयवस्तुमा भारतकै कलाकार, नेपालको विषयवस्तुमा नेपालकै कलाकार,’ उनले भने।

‘आचार्य’ निर्माणका क्रममा नेपालमा एक्सन फिल्म छायांकन गर्दा सुरक्षा तथा विभिन्न स्थानमा सुटिङ अनुमति लिनुपर्ने प्रक्रियाले चुनौती थपेको निखिलले बताए । आफूले एक्सन दृश्यमा वास्तविक स्टन्ट गर्ने भएकाले पर्याप्त सुरक्षा पूर्वाधार नहुँदा जोखिम उठाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

‘यहाँ सेफ्टीको चिज छैन । अहिले पनि हामीले काम गर्दा ठूलो रिस्क उठाउनुपर्ने हुन्छ । म रियल स्टन्ट गरिरहेको हुन्छु,’ उनले भने। कलाकारलाई सामान्य चोट लाग्दा समेत त्यसले फिल्मको समय र बजेटमा प्रत्यक्ष प्रभाव पार्ने उनले बताए।

‘मलाई सानो चोट लागेर मैले रेस्ट गर्नुपर्‍यो भने यहाँ प्रोडक्सनवाइज त्यसको कस्ट बढ्दै जान्छ। शारीरिक चोट मात्रै होइन, यसले फाइनान्सियल चोट पनि पुर्‍याउँछ,’ उनले भने।

एयरपोर्ट, सडक, रंगशालालगायत सार्वजनिक तथा संवेदनशील स्थानमा छायांकनका लागि अनुमति लिन समस्या हुने गरेको पनि निखिलले बताए । कतिपय दृश्य नेपालमा खिच्न नपाएपछि भारतमा गएर छायांकन गर्नुपरेको उनको भनाइ छ ।

फिल्म उद्योगलाई अन्य उद्योगसरह हेरेर सम्बन्धित निकायले आवश्यक सहजीकरण गर्नुपर्ने निखिलको धारणा छ । फिल्म निर्माणबाट राज्यले करसमेत प्राप्त गर्ने भएकाले नेपाली फिल्मलाई आवश्यक स्थान, सुरक्षा र सुविधा उपलब्ध गराउने वातावरण बन्नुपर्ने उनले बताए । फिल्ममा निखिल उप्रेतीसँगै पूर्णिका सिजापति, प्रमोद अग्रहरि तथा भारतीय कलाकारहरूको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्