चार सहरमा देखाईयो ‘बाः एक योद्धा’

फिल्म । नेपाली फिल्म ‘बाः एक योद्धा’ले काठमाडौंभन्दा बाहिरका दर्शकबाट आफ्नो प्रिमियर यात्रा सुरु गरेको छ । प्रायः नेपाली फिल्मले काठमाडौंका दर्शकमाझ प्रिमियर गरेपछि मोफसलका दर्शकसम्म पुग्ने परम्पराभन्दा फरक शैली अपनाउँदै ‘बाः एक योद्धा’ले काठमाडौंअघि नै चार प्रमुख सहरमा प्रिमियर गरेको हो।

फिल्मको नेपालगञ्ज, दाङ, धरान र बुटवलमा प्रिमियर सम्पन्न भइसकेको छ। चारवटै सहरका दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएपछि निर्माणपक्ष अब काठमाडौं प्रिमियरको तयारीमा जुटेको छ। फिल्मको काठमाडौं प्रिमियर असोज ६ गते गर्ने तयारी छ।

मोफसलका दर्शकबाट सोचेभन्दा राम्रो प्रतिक्रिया पाएपछि काठमाडौंका दर्शकबाट पनि सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको निर्देशक हरि लम्सालले बताए।

‘हामीले जसरी नेपालगञ्ज, दाङ, धरान र बुटवलका दर्शकबाट सोचेभन्दा पनि राम्रो प्रतिक्रिया पाएका छौँ, त्यस्तै प्रतिक्रिया काठमाडौंबाट पनि पाउने अपेक्षा गरेका छौँ,’ लम्सालले भने, ‘हाम्रो फिल्म जस्तो लागेको छ, त्यस्तै प्रतिक्रिया सामाजिक सञ्जालमा राखिदिन पनि आग्रह गरेका छौँ।’

प्रिमियरमा फिल्म हेरेका अधिकांश दर्शकले प्रशंसा गरेको निर्माता वसन्त लम्सालले बताए। उनका अनुसार दर्शकले अभिनेता दिव्यदेवको करियरका लागि ‘बाः एक योद्धा’ महत्वपूर्ण फिल्म बन्न सक्ने प्रतिक्रिया दिएका छन्। त्यस्तै, सुहाना थापाको अहिलेसम्मकै फरक र राम्रो फिल्मका रूपमा पनि दर्शकले प्रतिक्रिया दिएको उनले बताए।

फिल्म हेरेपछि एक युवतीले आफ्ना दिवंगत बुवाको सम्झना आएको बताइन्। ‘अहिले मेरो बा हुनुहुन्न। तर, यो फिल्मको बाले जस्तै हामीलाई संघर्ष गरेर हुर्काउनुभएको हो। उहाँको सेन्डो सधैँ च्यातिएको हुन्थ्यो। तर, मलाई र मेरो ममीलाई कहिल्यै पुरानो लुगा लगाउन दिनुभएन। यो फिल्म हेरेर मैले मेरो बालाई मिस गरेँ,’ उनले भनिन्।

त्यस्तै, एक युवकले बुवाले गरेको संघर्ष नबुझेका सन्तानले यो फिल्म हेर्नुपर्ने बताए। ‘बुवाले गरेको संघर्ष नबुझेका सन्तानले एक पटक यो फिल्म हेर्नैपर्छ, देखाउनै पर्छ,’ उनले भने।

एक महिला दर्शकले फिल्मले बुबाआमाप्रतिको सन्तानको जिम्मेवारीबारे महत्वपूर्ण सन्देश दिएको बताइन्। ‘बुबाआमालाई सन्तानले कहिल्यै घात गर्नु हुँदैन भन्ने सन्देश फिल्ममा छ। बुवाले फिल्मको सुरुदेखि अन्तिमसम्म गर्ने दर्दनाक संघर्षले मेरो मन छोयो,’ उनले प्रतिक्रिया दिइन्।

फिल्ममा बाबु र छोरीको सम्बन्धलाई प्रस्तुत गरिएको भन्दै युवती दर्शकहरूले पनि प्रशंसा गरेका छन्। ‘हो, यस्तै बुवा हुनुपर्छ। यस्तो बुवा भयो भने कुनै पनि छोरीले अन्याय भोग्नु पर्दैन,’ उनीहरूको प्रतिक्रिया थियो।

दर्शकहरूले ‘बाः एक योद्धा’ले अभिभावकीय जिम्मेवारी र बुवाको त्याग तथा संघर्षलाई प्रस्तुत गरेको भन्दै परिवारसहित हेर्नुपर्ने फिल्मका रूपमा प्रतिक्रिया दिएका छन्।

अडियन्स प्रिमियरमा अभिनेता दिव्यदेव, सुहाना थापा, अनिल बुढाथोकी, सुप्रज्ञा शर्मा, निर्देशक हरि लम्साल र निर्माता वसन्त लम्साललगायतको उपस्थिति थियो। बुधबार दाङमा फिल्मको ग्रान्ड प्रिमियर आयोजना हुँदैछ।

असोज ९ गतेदेखि प्रदर्शनमा आउने ‘बाः एक योद्धा’ नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीको कथामा आधारित छ।

फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय रहेको छ। हरि लम्सालको लेखन तथा निर्देशन रहेको ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। फिल्मको कथा तथा पटकथा पनि लम्सालकै हो।

फिल्मका निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको फिल्मका लाइन निर्माता अर्जुन पौडेल र सह–निर्माता कृष्ण काफ्ले रहेका छन्। शिवराम श्रेष्ठको छायांकन रहेको फिल्मको मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन्। फिल्मलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।

कमेन्ट गर्नुहोस्