‘गोर्खा वारियर’ हेर्दा रसाए मन्त्री किरातीका आँखा

फिल्म । काठमाडौँको कमलपोखरीस्थित एक चलचित्र भवनमा गरिएको नेपाली चलचित्र ‘गोर्खा वारियर’ को प्रिमियरमा तारिफ पाएको छ । फिल्म हेर्न आइपुगेका विशिष्ट अतिथिदेखि चलचित्रकर्मीले यसको मेकिङ र विषयवस्तुको तारिफ गरेका छन् । फिल्म हेरेर निस्किएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीले फिल्म हेरिरहँदा आफ्नो आँखा रसाएको बताए।

‘मेरो बुबा र बाजेले पनि विभिन्न युद्ध लड्नु भएको थियो । त्यसैले पनि पर्दामा उस्तै घटना हेर्दा म भावुक भए । हाम्रो पुर्खाले लडेको युद्धसँगै वीर भनेर पाउने सम्मानका बारेमा हामी अवगत हुने मौका पाउनेछौँ,’ उनले भने। उनले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा लैजान गोर्खालीको कथा प्रमुख माध्यम बन्ने बताए ।

आयोजित प्रिमियरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायत विशिष्ट अथितिसँगै कलाकर्मीहरू हरिवंश आचार्य, सरोज खनाल, प्रियंका कार्की, किरण केसी, जितु नेपाल, निर्मल शर्मा, निर्देशक ज्ञानेन्द्र देउजा लगायत सहभागी थिए ।

फिल्म ‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ । यसमा मुख्य भूमिका निर्वाह गरेका अभिनेता रितेश चाम्स आफैँ पूर्वगोर्खा सैनिक हुन् । फिल्ममा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् ।

पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली फिल्मको स्तरीयता र महत्व दर्शाउन सफल ‘गोर्खा वारियर’को नेपालमा फागुन ११ मा प्रदर्शन हुँदैछ । निर्देशक मिलन चाम्सले फिल्मलाई वास्तविक युद्धको शैलीमा तयार गरेका छन् । त्यहाँ देखाइको युद्ध र शैली वास्तविकतासँग नजिक रहेको उनले जानकारी दिए । ‘हामीले अब आफ्नो कथा भन्न सुरू गर्नुपर्छ । विश्वले वीरताको उदाहरण दिने गोर्खालीको कथालाई पर्दामा देखाउन पाउँदा उत्साहित छु’, निर्देशक चाम्सले भने ।

नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको फिल्म लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । यसमा सुमन राई र सुस्मिता वाइवा निर्माता छन् । यस्तै, कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रुपमा सुरेश राई छन् । फिल्मको एसोसिएट वितरकमा रीच इन्टरटेनमेन्ट रहेको छ ।

कमेन्ट गर्नुहोस्