असोज ९ मा ‘बा : एक योद्धा’

फिल्म । फिल्म ‘बा : एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा छोराछोरीप्रति समर्पित बुवाले गरेको त्याग र योगदान नबुझ्ने छोराहरूको कथा प्रस्तुत गरिएको छ। घरसमेत धितोमा राखेर छोराको सपना पूरा गर्न तयार हुने बुवाको योगदान बिर्सने छोराको कथालाई ट्रेलरमा प्राथमिकता दिइएको छ। बुवाले छोरीहरूलाई भन्दा छोरालाई बढी सम्पत्ति दिने कुरा गर्दा छोराहरूले त्यसलाई स्वीकार नगर्ने व्यवहारलाई समेत ट्रेलरमा देखाइएको छ।

आफ्नै बुवाको समस्या छोराहरूले नबुझ्दा बुवाआमाले भोग्नुपर्ने समस्या र अपमानलाई ट्रेलरले प्रस्तुत गरेको छ। त्यस्तै, छोराभन्दा छोरीले अभिभावकको समस्या बुझ्ने गरेको पक्षलाई पनि कथामा देखाइएको छ।

छोराहरू महत्वाकांक्षी र अव्यावहारिक हुँदा मध्यमवर्गीय परिवार कसरी आर्थिक समस्यामा फस्न सक्छ भन्ने विषयलाई पनि ट्रेलरमा समेटिएको छ। आफ्ना छोराले भन्दा छिमेकीले बुवाको पीडा बुझिरहेको देखाइएको ट्रेलरले छोरीको भूमिकालाई भने रहस्यमै राखेको छ।

सकारात्मक सोच भएका सहयोगी बुवा र छोरी नै ठूलो समस्यामा फसिरहेको संकेत ट्रेलरले गरेको छ। फिल्म ‘बा : एक योद्धा’ असोज ९ गतेदेखि प्रदर्शनमा आउँदैछ। नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौती फिल्मको मुख्य कथा हो।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन्।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार तथा गायक पनि हुन्। फिचर फिल्मतर्फ ‘बा : एक योद्धा’ उनको पहिलो निर्देशन हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा पटकथा पनि लम्साल स्वयंले लेखेका हुन्।

फिल्मका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन्। अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माता हुन्। शिवराम श्रेष्ठको छायांकन रहेको फिल्मको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन्। फिल्म ‘बा : एक योद्धा’लाई आशिष एच. तामाङ र प्रदीप धामीको कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ।

कमेन्ट गर्नुहोस्