किन चर्चामा छ ‘झिँगे दाउ २’को ट्रेलर ?

फिल्म । आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘झिँगे दाउ २’को ट्रेलर सार्वजनिक भएसँगै चर्चामा आएको छ । दाजुभाइबीचको सम्बन्ध, देउरानी-जेठानीको झगडा, आमाको ममता, सन्तानको प्रेम तथा आमा खोज्ने कथालाई प्रस्तुत गरिएको ट्रेलरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

ट्रेलरमा देखाइएका पारिवारिक द्वन्द्व र सम्बन्धका उतारचढावले दर्शकमा फिल्मप्रति थप उत्सुकता जगाउने देखिन्छ। कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको छ। रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता हुन्।

फिल्ममा केकी अधिकारी र आँचल शर्मासँगै महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाललगायत कलाकारको अभिनय रहेको छ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन रहेको छ। विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी. गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत तथा रोशन श्रेष्ठको एक्सन निर्देशन छ। ईश्वर घिमिरे प्रोडक्सन हेडका रूपमा रहेका छन्।

फिल्मको टिजरले यसअघि नै दर्शकको ध्यान तानिसकेको छ। फिल्ममा समावेश ‘जेठानी भर्सेस देउरानी’ बोलको तीज ब्याटल गीत पनि युट्युब तथा टिकटकमा लोकप्रिय बनेको छ। गीतले छोटो समयमै ३७ लाखभन्दा बढी भ्युज पाइसकेको निर्माण पक्षले जनाएको छ।

यसैगरी, ‘झिँगे दाउ’को पहिलो भागले युट्युबमा ८० लाखभन्दा बढी भ्युज पाइसकेको छ। पहिलो फिल्मलाई दर्शकले दिएको प्रतिक्रियाका कारण ‘झिँगे दाउ २’प्रति पनि दर्शकको चासो बढेको निर्माण पक्षको विश्वास छ। सार्वजनिक ट्रेलरले फिल्मको पारिवारिक कथा र द्वन्द्वलाई थप रोचक बनाउँदै दर्शकलाई हलसम्म तान्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्