फिल्म । नेपाली फिल्म ‘कार्की साइँला’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलर मुख्य पात्र कार्की साइँला (जितु नेपाल) को कथावस्तुवरिपरि घुमेको छ । गाउँमा भारी बोकेर जीवनयापन गर्ने एक भरियाको पारिवारिक दायित्व, विवाह, सन्तानको खुसी र गाउँलेहरूको हेपाईप्रवृत्तिको यथार्थलाई ट्रेलरमा जीवन्त रूपमा प्रस्तुत गरिएको छ ।
फिल्ममा जितु नेपाल अरूको लगन गाँठो कसिदिने ‘लमी’को भूमिकामा समेत देखिएका छन् । गाउँमा आएकी युवती (प्रियना आचार्य) को भारी सित्तैमा बोकिदिँदा सुरु भएको सम्बन्ध प्रेम र विवाहमा परिणत भई सन्तान जन्मिएपछिको परिस्थिति कथाको मुख्य मोड बनेको छ ।
राजेन्द्र बस्नेतको निर्देशनमा तयार भएको यस फिल्ममा जितु नेपाल र प्रियना आचार्यका साथै सुशील पोखरेल, बीरेन्द्र सिंह कुशवाहा र मान्शी शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ। डम्बर राईको कथा रहेको यस फिल्मको पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारीले तयार पारेका हुन्।










