बुवाको संघर्ष र त्यागको कथा ‘बा : एक योद्धा’

फिल्म । हरि लम्सालको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘बा : एक योद्धा’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण पक्षले काठमाडौंमा कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरको केन्द्रमा बुवाको संघर्ष, त्याग र बलिदानलाई राखिएको छ । सन्तानको सुख र खुसीका लागि बुवाले गर्ने संघर्ष तथा आवश्यक पर्दा जस्तोसुकै त्याग गर्न तयार हुने बाबुको कथालाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।

सन्तानका लागि जीवनभर त्याग गर्ने बाबुआमाको योगदान बिर्सिंदै जाने प्रवृत्तिलाई समेत ट्रेलरले देखाएको छ । आफू जन्मिएको तथा हुर्किएको भूमि र आफूलाई योग्य बनाउने बाबुआमालाई भुल्ने प्रवृत्तिमाथि फिल्मले प्रश्न उठाएको निर्माण पक्षले जनाएको छ ।

सन्तानको खुसीका लागि आफू बसेको घरसमेत बेच्न तयार हुने बाबु र त्यसपछि आफ्नै सन्तानबाट पाउने पीडालाई ट्रेलरमा देखाइएको छ । सन्तानले दिएको चोट सहन नसकेपछि बाबुले लिने कठोर निर्णयलाई भने ट्रेलरले सस्पेन्समा राखेको छ ।

परिवारमा खुसी हराउँदै गएपछि परिवार टुक्रिने र त्यसपछि उत्पन्न हुने परिस्थितिलाई समेत ट्रेलरमा प्रस्तुत गरिएको छ । परिवारको मुख्य व्यक्तिका रूपमा रहेका बाबुले त्यसपछि के निर्णय लिन्छन् भन्ने प्रश्नसहित ट्रेलर सकिन्छ । यसले फिल्मको क्लाइमेक्सप्रति दर्शकमा कौतूहल बढाएको छ ।

फिल्म ‘बा : एक योद्धा’ भदौ १९ गतेदेखि प्रदर्शनमा आउने भएको छ । नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीलाई फिल्मको मुख्य कथा बनाइएको निर्माण पक्षले जनाएको छ ।

फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय रहेको छ ।

नेपाली संगीत क्षेत्रमा दर्जनौं चर्चित गीत दिएका संगीतकार हरि लम्साल रचनाकार तथा गायकसमेत हुन् । फिचर फिल्म निर्देशनमा भने ‘बा : एक योद्धा’ उनको डेब्यु निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा पटकथा पनि लम्सालकै हो ।

फिल्मका निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सहनिर्माता रहेका छन् ।

शिवराम श्रेष्ठको छायांकन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् । भदौ १९ गते प्रदर्शनमा आउने फिल्मलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्