देश । सामाजिक कार्यमा सक्रिय संस्था नेस्ट नेपालले कीर्तिपुरस्थित सपोर्टिङ चिल्ड्रेन इनिसियटिभ फाउण्डेसन (एससीआईएफ) मा कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) तथा सामुदायिक सहभागिता कार्यक्रम सम्पन्न गरेको छ।
सन् २०१६ मा स्थापना भएको एससीआईएफले हाल १७ जना बालबालिकाको हेरचाह तथा सहयोग गर्दै आएको छ। संस्थाले बालबालिकालाई सहयोगी वातावरण, शिक्षा तथा उज्ज्वल भविष्य निर्माणका लागि आवश्यक अवसर प्रदान गर्दै आएको जनाएको छ। बालबालिका १८ वर्ष पुगेपछि रोजगारी खोज्न सहयोग गर्ने तथा संस्थामै कर्मचारीका रूपमा काम गर्ने अवसर प्रदान गर्ने पहलसमेत एससीआईएफले गर्दै आएको छ।
एससीआईएफका संस्थापक वसन्त बिसीको समन्वयमा आयोजित कार्यक्रममा नेस्ट नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुशल काफ्ले, सुवास कँडेलसहित करिब ६० जना कर्मचारी सहभागी थिए।
कार्यक्रममा नेस्ट नेपालले संस्थाका लागि आवश्यक घरायसी सामग्री, खाद्यान्न, शैक्षिक तथा स्टेसनरी सामग्रीका साथै खेलकुद तथा मनोरञ्जनका सामग्री हस्तान्तरण गरेको थियो। संस्थाका अनुसार, सहयोग सामग्री वितरण गर्नुअघि एससीआईएफको आवश्यकताको मूल्यांकन गरी त्यही आधारमा सामग्री छनोट गरिएको थियो।
सामग्री हस्तान्तरणपछि नेस्ट नेपालका कर्मचारीहरूले बालबालिकासँग खेलकुद, दौड, कुराकानी तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिमा प्रत्यक्ष सहभागिता जनाएका थिए। कार्यक्रममा चम्चा तथा मार्बल दौड र सामूहिक कला गतिविधिसमेत आयोजना गरिएको थियो।
बालबालिका र कर्मचारीहरूले संस्थाको अभियान ब्यानरमा रंगीन हातका छाप तथा मसीका छाप राख्दै सामूहिक सहभागिता जनाएका थिए। टोलीले बालबालिकालाई व्यक्तिगत उपहारसमेत वितरण गरेको थियो।
नेस्ट नेपालका अनुसार नेतृत्व तथा कर्मचारीको प्रत्यक्ष सहभागिताले कार्यक्रमलाई सामग्री हस्तान्तरणमा मात्र सीमित नराखी अर्थपूर्ण अन्तरक्रिया, साझा अनुभव र सामुदायिक सहभागितामा केन्द्रित गरेको थियो।
नेस्ट नेपालले बालबालिकाको हेरचाह तथा उनीहरूलाई आत्मनिर्भर भविष्यका लागि तयार पार्न एससीआईएफले गर्दै आएको निरन्तर प्रयासको प्रशंसा गरेको छ। संस्थाले आगामी दिनमा पनि स्थानीय समुदाय तथा सामाजिक संस्थासँग सहकार्य गर्दै सीएसआर तथा सामुदायिक सहभागिताका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।









