फिल्म । अस्ट्रेलियाको सिड्नीस्थित ग्रान्ड प्यालेसमा नेपाली फिल्म ‘मालती मंगले’ को रेड कार्पेट प्रिमियर भव्य रूपमा सम्पन्न भएको छ। निर्माता तथा गायक रामकृष्ण ढकालका अनुसार भीआईपी डिनरसहित आयोजित प्रिमियरमा अपेक्षाभन्दा धेरै दर्शकको उपस्थिति रहेको थियो ।
दुई सय सिट क्षमताको उक्त रेस्टुरेन्टमा तीन सयभन्दा बढी दर्शक उपस्थित भएपछि कार्यक्रम हाउसफुल मात्र नभई ओभरफ्लो भएको थियो । सिड्नीमा रहेका नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा दर्शकले फिल्मको कथावस्तु र प्रस्तुतीकरणको खुलेर प्रशंसा गरेका थिए ।
विशेषगरी वर्षा राउत, विजय बराल, मेक्सम गौडेल, शकु शाह, प्रकाश घिमिरेलगायत कलाकारको अभिनयले दर्शकको मन जितेको निर्माता ढकालले बताए । उनले कार्यक्रम अपेक्षाभन्दा सफल भएको उल्लेख गर्दै आयोजक माउन्ट पुमोरीको टोली, सुबास थापा, संयोजक शोभित बस्नेत, प्रायोजक तथा सह निर्माताप्रति आभार व्यक्त गरे ।
फिल्म प्रदर्शनपछि आयोजित सांगीतिक कार्यक्रममा रामकृष्ण ढकालले आफ्ना आठ लोकप्रिय गीत प्रस्तुत गरेका थिए । उनलाई ‘द भ्वाइस अफ नेपाल’बाट परिचित तथा हाल अस्ट्रेलियामा अध्ययनरत गायिका अञ्जली हमालले चार युगल गीतमा साथ दिएकी थिइन् ।
सिड्नी प्रिमियर ‘मालती मंगले’ को अन्तर्राष्ट्रिय प्रदर्शन अभियानअन्तर्गत आयोजना गरिएको हो । यसअघि फिल्म अमेरिका र क्यानडाका विभिन्न सहरमा प्रदर्शन गरिसकिएको छ भने आगामी दिनमा युरोपसहित अन्य देशमा पनि प्रदर्शन गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।
रानी फिल्म्स र युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि उनकै हो भने पटकथा तथा संवादमा संयोग गुरागाईंले सहकार्य गरेका छन् । फिल्ममा वर्षा राउत, विजय बराल, मेक्सम गौडेल, शकु शाह, प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङको अभिनय रहेको छ ।
सागर ज्ञवाली कार्यकारी निर्माता रहेको फिल्मका सह-निर्मातामा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ रहेका छन् । महेश पौडेलको छायांकन रहेको फिल्मलाई रोमी मोजेजले सम्पादन गरेका छन् भने कृष्ण भण्डारीले कलर गरेका छन् । फिल्ममा सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर र डिकेश खड्गीको साउन्ड मिक्सिङ रहेको छ ।









