‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को नवौं संस्करण सिड्नीमा हुने

विदेश । ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को नवौं संस्करण पहिलोपटक अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको छ । यसअघि आठ संस्करण सम्पन्न भइसकेको अवार्डको नवौं संस्करण आगामी १७ डिसेम्बर २०२६ मा सिड्नीमा आयोजना गरिने भएको हो ।

यसका लागि नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी र भारा इन्टरटेनमेन्ट अष्ट्रेलियाबीच औपचारिक सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा नेपाल फिल्म सोसाइटी तथा ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीका प्रतिनिधि एवं संयोजक सञ्जय खतिवडा र भारा इन्टरटेनमेन्ट अष्ट्रेलियाका संस्थापक तथा आयोजक अरुण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागी हुँदै सिड्नीमा हुने नवौं संस्करणले ग्लोबल नेपाली फिल्म अवार्डको इतिहासमा नयाँ अध्याय थप्ने विश्वास व्यक्त गरे । उनले अवार्ड सफल बनाउन सबै साझेदारलाई बधाईसमेत दिए ।

सम्झौता कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष दिनेश पोखरेल, एनआरएनए एनएसडब्ल्यू संयोजक उषाकिरण बरिया पोखरेल, भारा इन्टरटेनमेन्ट अष्ट्रेलियाका निर्देशक रुपेश भट्टराई, ग्लोबल नेपाली फिल्म अवार्डका सल्लाहकार विजय सापकोटा, भारा इन्टरटेनमेन्टका संस्थापक हेमन लामिछाने, एएनसीका इभेन्ट संयोजक नवराज तिमल्सिना, एएनसीकी प्रवक्ता सबला बस्नेत, जीएसएनएमसीका अध्यक्ष विष्णु हमाल, फिल्म निर्माता तथा आरएफएमका संस्थापक रञ्जित शाह, सामुदायिक अगुवा महेन्द्र लम्साल र भूपाल सिटौला तथा एनआरएनएका पूर्व सह–महासचिव राकेश जोशीलगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्