फिल्म । सञ्जय राईको निर्देशनमा बन्ने नेपाली फिल्म ‘एक्का मिस्सी बादशाह’ को औपचारिक निर्माण घोषणा गरिएको छ। शनिबार निर्देशक राईको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा कलाकार तथा प्राविधिक टोली सार्वजनिक गर्दै निर्माण प्रक्रिया सुरु भएको जानकारी दिइएको हो। लामो समयदेखि फिल्म निर्माण र निर्देशनमा रुचि राख्दै आएका उनले युवापुस्ताको कथा प्रस्तुत गर्ने उद्देश्यसहित फिल्म निर्देशनमा प्रवेश गरेका हुन्।
मोहिनीदेवी राईको प्रस्तुतिमा बन्ने फिल्ममा अभिनेत्री सम्राज्ञी आरएल शाह मुख्य भूमिकामा रहनेछिन्। उनले ‘आश’ पात्र निर्वाह गर्नेछिन्। निर्माण टिमले उनको बोल्ड लुक्स सार्वजनिक गर्दै पात्रको परिचय गराएको छ।
सम्राज्ञीले आफूलाई मनपर्ने पात्र नभएकाले केही समय फिल्मबाट टाढा रहेको बताउँदै ‘एक्का मिस्सी बादशाह’को कथा र आफ्नो पात्र मन परेकै कारण फिल्ममा आबद्ध भएको जानकारी दिइन्। उनका अनुसार फिल्ममा उनले साहसी, बोल्ड र फरक चरित्र निभाउँदैछिन्।
‘कोही जित्छन्, कोही हार्छन्, कोही बादशाह बन्छन्’ ट्यागलाइन रहेको फिल्म युवापुस्ताको प्रेम, सम्बन्ध, सामाजिक सञ्जालको प्रभाव र जीवनका उतारचढावमा केन्द्रित रहने निर्देशक राईले बताए।
फिल्ममा कार्यकारी निर्माता सुदीप्ता, लाइन प्रोड्युसर एलोन गुरुङ र प्रोजेक्ट सुपरभाइजर सुपथ श्रेष्ठ रहेका छन्। नरेन्द्र मैनालीको छायांकन, निकेश कार्की र रोमन बज्राचार्यको संगीत, आशिम रानाभाटको स्टाइलिङ तथा सुनिल शिवभक्तिको सम्पादन रहनेछ। फिल्मको छायांकन आगामी फागुनदेखि सुरु गर्ने तयारी गरिएको छ।
निर्माण पक्षले ‘क्रिश’ र ‘अर्जुन’ नामका दुई मुख्य पुरुष पात्रका लागि अडिसन खुला गरिएको जनाएको छ। अन्य कलाकार तथा थप विवरण भने आगामी दिनमा सार्वजनिक गरिने बताइएको छ।









