फिल्म । यही साउन २२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘हली’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार आयोजित एक कार्यक्रममा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको ट्रेलरमा पश्चिम नेपालको छाउप्रथा र त्यसले महिला तथा बालिकाको जीवनमा पार्ने प्रभावलाई मुख्य विषय बनाइएको छ।
ट्रेलरमा महिनावारी भएका कारण बालिकालाई विद्यालय जान रोकिएको, पहिलो पटक महिनावारी हुँदा छाउगोठमा बस्नुपर्ने र २१ दिनसम्म बुवा तथा पुरुष सदस्यको अनुहार हेर्न नहुनेजस्ता सामाजिक कुरीतिलाई प्रस्तुत गरिएको छ। निर्माता पूजा गुरुङले फिल्म वास्तविक घटनाबाट प्रेरित भएर निर्माण गरिएको बताइन्। उनले समाज परिवर्तनका लागि चेतना आवश्यक रहेको उल्लेख गर्दै ‘हली’ले परिवर्तनको सन्देश दिने विश्वास व्यक्त गरिन्।
निर्देशक ओम प्रतिकले पश्चिम नेपालको यथार्थ घटनालाई आधार बनाएर फिल्म निर्माण गरिएको बताउँदै चेतनाको विकास नै समाज परिवर्तनको मुख्य आधार भएको धारणा राखे।
पूजा गुरुङ र जस्मिन श्रेष्ठ निर्मित फिल्मको लेखन तथा निर्देशन ओम प्रतिकले गरेका हुन्। फिल्ममा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतिक स्वयंको अभिनय रहेको छ।
फिल्मको यसअघि सार्वजनिक गरिएको प्रमोसनल गीतमा दीपाश्री निरौला, पूजा शर्मा र मिथिला शर्मालगायत कलाकारको अभिनय रहेको थियो, जसले दर्शकमाझ राम्रो प्रतिक्रिया पाएको निर्माण पक्षको दाबी छ।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको ‘हली’ ले समाज परिवर्तनका लागि एक व्यक्तिको चेतना पनि पर्याप्त हुन सक्छ भन्ने सन्देश दिने निर्माण पक्षले जनाएको छ।
फिल्ममा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ। कार्यकारी निर्माता अर्जुन भुसाल, सहनिर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्। राहुल राईको छायाङ्कन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मलाई नेसनल सिने ग्रुप प्रालिले वितरण गर्नेछ भने यसको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।









