फिल्म । निर्माता जनक घर्ती मगरले नयाँ फिल्म ‘आकाश वर्षा’ निर्माणको घोषणा गरेका छन् । टाइटल अनाउन्समेन्ट पोस्टर सार्वजनिक गर्दै उनले नयाँ फिल्मको औपचारिक घोषणा गरेका हुन् । ‘मितज्यू’ प्रदर्शनमा आएको छोटो समयमै उनले नयाँ फिल्म निर्माण गर्ने घोषणा गरेका छन् ।
जीएम मुभी प्रोडक्सनको प्रस्तुतिमा बन्ने फिल्मको निर्देशन सुदीप भजुले गर्नेछन्। सार्वजनिक टाइटल पोस्टरमा आकाशबाट हल्का वर्षा भइरहेको दृश्य, बादल र पृष्ठभूमिमा पहाड देखाइएको छ। पोस्टरले मानव जीवनका दुःख, सुख र संघर्षसँगै आशा र खुसीको संकेत गर्ने प्रयास गरेको देखिन्छ।
निर्माता जनक घर्ती मगरका अनुसार ‘आकाश वर्षा’ विशुद्ध प्रेमकथामा आधारित फिल्म हुनेछ। फिल्मका कलाकार तथा अन्य प्राविधिक टोलीबारे भने हालसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन। पछिल्लो समय नेपाली फिल्ममा प्रेमकथामा आधारित कथावस्तु कम बन्न थालेका बेला जनकले यही विधामा फिल्म निर्माण गर्न लागेका हुन्। फिल्मको परिकल्पना स्वयं जनक घर्ती मगरको रहेको छ भने कथा तथा पटकथा अमिर मगरले लेखेका छन्।
जनकले यसअघि ‘घरज्वाइँ’ र ‘मितज्यू’ निर्माण गरेका थिए। ‘घरज्वाइँ’ व्यावसायिक रूपमा सफल बनेको थियो भने ‘मितज्यू’ले समीक्षकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो। फिल्म ‘आकाश वर्षा’ को देशव्यापी वितरणको जिम्मेवारी आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले लिएका छन्।









