‘पार्वती’को ‘नौतुना रेलैमा’ टिकटकमा भाइरल

फिल्म । अभिनेत्री तथा निर्देशक नीता ढुङ्गानाको फिल्म ‘पार्वती’ को गीत ‘नौतुना रेलैमा’ यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको गीतमा हालसम्म टिकटकमा ३१ हजार ४०० भन्दा बढी भिडियो निर्माण भइसकेका छन् । गीत टिकटकसँगै फेसबुक र युट्युबमा पनि लोकप्रिय बन्दै गएको छ ।

गीतको लोकप्रियतासँगै निर्माण पक्षले ‘नौतुना रेलैमा टिकटक प्रतियोगिता’ सञ्चालन गरेको छ । प्रतियोगिताअन्तर्गत सहभागीले गीतमा सिर्जनात्मक भिडियो बनाएर टिकटकमा पोस्ट गर्नुपर्नेछ । उत्कृष्ट तीन विजेताले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै पाँच जना सहभागीलाई फिल्मको निःशुल्क टिकट प्रदान गरिने निर्माण पक्षले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन भिडियो पोस्ट गर्दा #पार्वती, #भाद्र१२ र #नौतुनारेलैमा ह्यासट्याग अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ। विजेता भिडियोको गुणस्तर र प्राप्त भ्युजका आधारमा छनोट गरिने जनाइएको छ ।

गीतको भिडियोमा नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी र क्रिमसन श्रेष्ठको नृत्य रहेको छ। रत्यौली संस्कृतिमा आधारित गीतमा दीपाश्री निरौला पुरुषको भेषमा देखिएकी छन्।

नीता ढुङ्गानाकै कथा तथा निर्देशनमा बनेको ‘पार्वती’ मा उनी स्वयं मुख्य भूमिकामा छिन्। फिल्ममा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ।

फिल्मको पटकथा शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको छायाङ्कन, रामजी लामिछानेको नृत्य निर्देशन रहेको फिल्मका कार्यकारी निर्माता शंकर पाण्डे र निर्माता हरिहर अधिकारी हुन्।

नीता फिल्म्सको प्रस्तुतिमा बनेको ‘पार्वती’ आगामी भदौ १२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। निर्माण पक्षका अनुसार गीतको बढ्दो लोकप्रियतासँगै फिल्मप्रति दर्शकको उत्सुकता पनि बढ्दै गएको छ।

कमेन्ट गर्नुहोस्