‘ऐरी’मा प्रदीपको सिकारी अवतार

फिल्म । नेपाली फिल्ममा लभरब्वाईको छवि निर्माण गरेका कलाकार प्रदीप खड्काले त्यसलाई मेटाईरहेका छन् । फिल्म ‘प्रकाश’ मा जुम्लेली युवाको भूमिकामा देखिएका प्रदीपको अभिनय रहने नयाँ फिल्म ‘ऐरी’ गरिएको छ । मंगलबार मोसन पोस्टर र टिजरमार्फत् यो फिल्मको घोषणा गरिएको हो । टिजरमा प्रदीपलाई ऐरी अर्थात् सिकारी अवतारमा प्रस्तुत गरिएको छ ।

शिरमा गुथेको फेटामा खुकुरी सिउरिएका उनी लामो कपालसहित चित्रित छन् । पृष्ठभूमिमा भने गर्जिएको बाघ छ, जसले प्रदीपको चरित्रबारे बयान गर्छ । मल्टीमेटका सञ्चालक जीवन थापाको निर्देशनमा तयार हुन लागेको फिल्म हिन्दीसहित अंग्रेजी, तमिल र नेपाली भाषामा पनि निर्माण हुने जनाइएको छ ।

फिल्मलाई सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरले संयुक्त रुपमा निर्माण गर्नेछन् । सुवास र प्रशान्त भारतीय निर्माता हुन् । फिल्मलाई अर्को वर्ष अर्थात् २०२४ मा रिलिजको तयारी गरिएको छ । छायांकन भने फागुनपछि सुरु गर्ने तयारीमा निर्माण टिम छ । प्रदीपको यो पहिलो बलिउड फिल्म हुनेछ । उनले नेपाली फिल्मलाई ‘ऐरी’मार्फत् बलिउड प्रवेशको एउटा सुनौलो मौका मिलेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्