‘अक्षरा’को डबिङमा न्यान्सी

फिल्म । आगामी भदौ २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘अक्षरा’ को डबिङ कार्य यतिबेला तीव्र रूपमा भइरहेको छ । प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण पक्षले पोस्ट–प्रोडक्सनको कामलाई अन्तिम चरणमा पुर्‍याएको हो । यसैक्रममा शुक्रबार मुख्य अभिनेत्री न्यान्सी खड्काले आफ्नो भागको डबिङ सम्पन्न गरेकी छन्। डबिङका क्रममा पर्दामा आफ्नो अभिनय हेर्दा उनी निकै उत्साहित देखिएकी थिइन् । आफ्नो पात्रलाई पूर्ण रूपमा न्याय दिन सकेको महसुस भएको बताउँदै उनले पर्दामा देखिएको अभिनयले आफूलाई समेत चकित बनाएको प्रतिक्रिया दिइन् ।

सुपरहिट फिल्म ‘१२ गाउँ’ मार्फत अभिनय यात्रा सुरु गरेकी न्यान्सीका लागि मुख्य अभिनेत्रीका रूपमा ‘अक्षरा’ पहिलो फिल्म हो । यसअघि उनले अभिनेता अनमोल केसीसँग फिल्म ‘बाटुलो जून’ मा अभिनय गरेकी छन्, जुन प्रदर्शनको तयारीमा रहेको छ। ‘अक्षरा’ मा एकल मुख्य अभिनेत्रीको जिम्मेवारी रहेकाले यस भूमिकाका लागि आफूले निकै मेहनत गरेको उनले बताएकी छन् ।

फिल्म क्षेत्रमा प्रवेश गर्नुअघि न्यान्सीले सन् २०१६ देखि २०२० सम्म अमेरिकाको क्यालिफोर्नियामा कम्युनिकेसन स्टडिज (सञ्चार अध्ययन तथा वक्तृत्वकला) मा स्नातक तथा साइकोलोजीमा माइनर अध्ययन गरेकी थिइन्। अमेरिकामा रहँदा उनी मोडलिङमा पनि सक्रिय थिइन् र प्रतिष्ठित अन्तर्राष्ट्रिय मुभिर पेरिस म्यागजिन मा फिचर भएकी थिइन्। साथै, उनी मिस नेपाल इन्टरनेसनल २०२२ की विजेता हुन्। उनले जापानमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन्।

फिल्ममा न्यान्सीको जोडी अभिनेता सुशील सिटौलासँग बाँधिएको छ। साथै, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको पनि प्रमुख भूमिका रहेको छ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना देखिनेछन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्ममा सोनी थापा (ढुङ्गाना) को प्रस्तुति रहेको छ। विनयराज पौडेलको लेखन तथा निर्देशन रहेको यस फिल्मका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन्। कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्।

फिल्मको मूल कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका छन्। दीपेन बस्न्यातको छायाङ्कन, रामजी लामिछानेको कोरियोग्राफी तथा शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको ‘अक्षरा’ लाई नेसनल सिने ग्रुप नेपालमार्फत दीपक दंगालले वितरण गर्नेछन्।

कमेन्ट गर्नुहोस्