किन चर्चामा छ ‘बेहुली’ ?

फिल्म । आगामी हरितालिका तीजको अवसर पारेर भदौ २६ मा प्रदर्शन हुने फिल्म ‘बेहुली’ पोस्टर सार्वजनिक भएसँगै चर्चामा छ । ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गर्न सार्वजनिक गरिएको पोस्टरमा गहिरो प्रेम, संघर्ष र सामाजिक द्वन्द्वको संकेत देख्न सकिन्छ ।

पोस्टरमा अभिनेता पारस बम ठकुरीको हातमा हतकडी देखिन्छ भने उनको अनुहारमा गम्भीर भाव र चोटका संकेत छन् । यता रातो विवाह पहिरन र गहनामा सजिएकी अभिनेत्री दिव्या रायमाझीले आँखा चिम्लिएर पारसको छातीमा टाउको अड्याएकी छन् । हतकडी लागेको युवक र बेहुलीको भावनात्मक आलिङ्गनले फिल्मभित्रको प्रेमकथा सहज नभएको संकेत दिएको छ । यस्तै कारण फिल्मको सार्वजनिक पहिलोपोस्टर चर्चामा आएको छ ।

पोस्टर सार्वजनिक कार्यक्रममा पारस र दिव्या पोस्टरकै शैलीमा उपस्थित भएका थिए। दिव्या बेहुलीको पहिरनमा देखिएकी थिइन् भने पारसको हातमा हतकडी लगाइएको थियो। उनीहरूको प्रस्तुतिले कार्यक्रममा उपस्थित सञ्चारकर्मी र अतिथिहरूको ध्यान खिचेको थियो।

फिल्ममा पारस र दिव्यासँगै सुशान्त कार्कीको पनि मुख्य भूमिका रहेको छ। ‘होस्टेल ३’बाट ठूलो पर्दामा डेब्यु गरेका पारस यसपटक परिपक्व प्रेमकथामा दर्शकमाझ आउँदै छन्। युवापुस्तामाझ लोकप्रिय पारस र दिव्याको नयाँ जोडीप्रति दर्शकको उत्सुकता पनि बढ्दो छ।

‘होस्टेल ३’मा सहकार्य गरेका सशान कँडेल र माधव शर्माको टोलीले नै ‘बेहुली’ निर्माण गरेको हो। माधव शर्माको कथामा सशान कँडेलले निर्देशन गरेका छन्। सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेको फिल्ममा योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना सहायक निर्देशकका रूपमा रहेका छन्।

फिल्ममा पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय रहेको छ।

प्राविधिक पक्षमा नरेन्द्र मैनालीको छायांकन, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ। अर्जुन पोखरेलको संगीत रहेको फिल्मका निर्माता प्रताप शमशेर राणा हुन्। कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल तथा सह-निर्मातामा दुर्गा खरेल र शिशिर श्रेष्ठ रहेका छन्।

कमेन्ट गर्नुहोस्