कलाकारहरुको सहयोग प्राविधिकलाई

फिल्म । निषेधाज्ञाका कारण समस्यामा परेका फिल्ममा काम गर्ने प्राविधिकहरुका लागि कलाकारहरुले सहयोग गर्न थालेका छन् । अघिल्लो पटक झैँ यसपटक पनि कलाकारहरु सहयोगी हातका साथ अगाडी आएका छन् । खाद्यान्न तथा केही कलाकारहरुले नगद सहयोग गरिरहेको प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताएका छन् ।

केही दिनअघि कलाकार विजय लामा र लामा नोर्बु पासाङ्ले ५० प्राविधिकका परिवारलाई खाद्यान्न सहयोग गरेका थिए । बुधबार केही वर्षदेखि अभिनयबाट टाढा रहेकी नायिका सुमिना घिमिरेले प्राविधिकहरुका लागि खाद्यान्न सहयोग गरेकी छिन् । यस्तै , गैडा उपनामले परिचित कलाकार निर्मल शर्माले समस्यामा परेका प्राविधिकका लागि २५ हजार रुपैयाँ नगद सहयोग गरेका छन् । उनले आफू जोडिएको लक्ष्मी प्रतिष्ठानसँग सहयोग जुटाएर संघका अध्यक्ष लामालाई बुधबार रकम हस्तान्तरण गरेका हुन् ।

यस्तै , अध्यक्ष लामाले सामाजिक सञ्जाल मार्फत अमेरिकामा रहेका नायक जीवन लुइटेल, राजबल्लभ कोईराला, निरज बरालले ५१–५१ हजार रुपैयाँ र अभिनेता मुकेश आचार्यले २१ हजार रुपैयाँ सहयोग गरेको जनाएका छन् । त्यस्तै, अमेरिकामै रहेका अभिनेता गणेश उप्रेतीले ५० हजार, बेल्जियममा रहेका कलाकार तथा निर्माता तेजेन्द्र कँडेलले १५ हजार रुपैयाँ सहयोग गरेको समेत उनले जनाए । संकलित रकमहरु संघको ‘कोभिड १९ विपद् व्यवस्थापन कोष’मा जम्मा गर्ने र समस्यामा परेका प्राविधिलाई कोषबाट सहयोग गर्दै जाने अध्यक्ष लामाले बताए ।

नेपाली चलचित्रको पर्दापछाडि रहेका काम गर्ने प्राविधिकहरु १५ सय छन् । त्यसमा अधिकांश प्राविधिकहरुको आर्थिक अवस्था कमजोर भएकाले अहिलेको अवस्थामा उनीहरुको समस्या न्यूनिकरण गर्न लागिपरेको अध्यक्ष लामा बताउँछन् ।

कमेन्ट गर्नुहोस्