फिल्म । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको १ सय १० जनाको समानुपातिक उम्मेदवार सूचीमा फिल्म, सङ्गीत र ब्यूटी पेजेन्ट क्षेत्रका सेलिब्रेटीहरूको उल्लेखनीय उपस्थिति देखिएको छ । मनोरञ्जन क्षेत्रमा परिचित केही चर्चित अनुहारहरूले उक्त सूचीमा स्थान पाएका छन् । पूर्व मिस नेपालदेखि गायक, अभिनेता र टेलिभिजन कार्यक्रम सञ्चालकसम्म सूचीमा समेटिएका छन् ।
सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ आदिवासी महिला क्लस्टरबाट सूचीको चौथो स्थानमा अटाएकी छन् । गायक तथा अभिनेता प्रकाश सपुत दलित क्लस्टरबाट दोस्रो स्थानमा छन् । त्यस्तै, टेलिभिजन कार्यक्रम होस्ट, मोडल तथा अभिनेत्री रीमा विश्वकर्मा दलित महिला क्लस्टरबाट पहिलो स्थानमा रहेकी छन् । गायक, अभिनेता तथा टेलिभिजन होस्ट आसिफ शाह पनि सूचीमा समावेश छन् । उनी मुस्लिम क्लस्टरबाट पहिलो स्थानमा छन् ।
चर्चित गायिकाद्वय सत्यकला राई र त्रिशला गुरुङले पनि रास्वपाको समानुपातिक सूचीमा स्थान पाएका छन् । सोमबार रास्वपाले बालेन शाह र कुलमान घिसिङ समूहसँग समन्वय गर्दै १ सय १० जनाको नामावली निर्वाचन आयोगमा पेस गरेको थियो । रास्वपासँग एकीकरण हुनुअघि कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले क्यूएफएक्स प्रमुख नकिम उद्दिनसहित केही कलाकारलाई सिफारिस गरेको भए पनि अन्तिम सूचीमा उनीहरू समावेश भएका छैनन् ।











