फिल्म । कपनगढी सिनेमा प्रालि र फिल्म क्रु नेपाल प्रालिको प्रस्तुतिमा बनेको फिल्म ‘झिंगे दाउ २’ को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ।आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने फिल्मको सार्वजनिक गीतमा प्रमोद खरेल र मनिषा सुनारको स्वर, डा. कृष्णहरि बरालको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ।
गीतका शब्द निकै भावुक र मार्मिक छन्। यसले आमाको महिमाको वर्णन गर्नुका साथै वृद्धाश्रममा बस्न बाध्य भएका आमाहरूको पीडादायी यथार्थलाई पनि उजागर गरेको छ। निर्माणपक्षका अनुसार यो गीतले फिल्मको मूल कथावस्तु र भावलाई प्रतिनिधित्व गर्छ।
गीतको भिडियोमा अतिथि कलाकारका रूपमा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा देखिएका छन्। साथै, फिल्मका मुख्य कलाकार आर्यन सिग्देल, हिउँवाला गौतम, बसुन्धरा भुषाल र चैत्यदेवी सिंहलाई पनि भिडियोमा फिचर गरिएको छ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको छ। फिल्मका डीओपी विष्णु घिमिरे ‘कल्पित’ हुन् भने सम्पादन मित्र डी. गुरुङले गरेका छन्। अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र रोशन श्रेष्ठको एक्सन रहेको फिल्मको गीत छायांकनमा निर्माणपक्षले विशेष मेहनत गरेको देखिन्छ। कोरियोग्राफर रामजी लामिछानेले गीतको भावअनुसार भिडियो तयार पारेका छन्।
फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुषाल, रेन प्रधान, विनोदकुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापाको अभिनय रहेको छ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्द फुयाल र शिशिर चालिसेको लेखन छ। विवेक बस्नेत र ईश्वर सिंखेमानले छायांकन गरेका फिल्ममा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजरका रूपमा रहेका छन्। निर्माणपक्षले केही दिनअघि पोस्टर सार्वजनिक गर्दै प्रचारप्रसारलाई तीव्रता दिएको थियो। अब पहिलो गीत सार्वजनिक भएसँगै फिल्मप्रतिको दर्शक उत्साह अझ बढ्ने अपेक्षा गरिएको छ।
तीन वर्षअघि प्रदर्शनमा आएको ‘झिंगे दाउ’ ले बक्स अफिसमा सफल व्यापार गरेको थियो। सोही फिल्मको सिक्वेलका रूपमा निर्माण भएको ‘झिंगे दाउ २’ ले पनि असोज २ गतेदेखि दर्शकको मन जित्ने निर्माणपक्षको विश्वास छ। फिल्मलाई एप्पल इन्टरटेन्मेन्टले नेपालभर वितरण गर्नेछ।










