फिल्म । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पार्वती’को पहिलो रत्यौली गीत ‘नौतुनाको रेलैमा’ सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार ओएसआर युट्युब च्यानलमार्फत गीत रिलिज गरेको हो । सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी र क्रिमसन श्रेष्ठको नृत्य देख्न सकिन्छ। विवाहका अवसरमा महिलाहरूले खेल्ने रत्यौलीलाई भिडियोमा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ ।
भिडियोमा दीपाश्री निरौला पुरुषको भेषभूषामा देखिएकी छन् भने नीता ढुङ्गाना पारम्परिक महिला पहिरनमा प्रस्तुत भएकी छन्। उनीहरूबीचको रमाइलो प्रस्तुतिले गीतलाई थप आकर्षक बनाएको छ।
गीतमा रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर रहेको छ। हर्क साउदको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन, मिक्सिङ र मास्टरिङ गरेका छन्। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।
अभिनेत्री नीता ढुङ्गानाको कथा तथा निर्देशनमा बनेको ‘पार्वती’मा उनी स्वयं मुख्य भूमिकामा छिन्। फिल्ममा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ।
फिल्मको कथा र पटकथा पनि निर्देशक ढुङ्गानाकै रहेको छ भने स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बराल छायाकार रहेको फिल्ममा नृत्य निर्देशन रामजी लामिछानेको छ।
शंकर पाण्डे फिल्मका कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर हुन् भने हरिहर अधिकारी निर्माता रहेका छन्। फिल्मको सम्पादन तथा टिजर–ट्रेलर निर्माण साहिल खानले गरिरहेका छन्। रोयल भीमसेनले पोस्टर डिजाइन गरेको फिल्मको वितरण एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले गर्नेछन्। फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।










