फिल्म । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘ऊनको स्वीटर’ को बुधबार साँझ काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा एक हजारबढी अतिथि, कलाकार, राजनीतिकर्मी, सञ्चारकर्मी र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।
प्रिमियरमा उपसभामुख इन्दिरा राना मगर, राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देल, सांसद सोविता गौतम, सांसद विनीता कठायत, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, अभिनेता दयाहाङ राई, अभिनेत्री केकी अधिकारी, अञ्जना बराइली लगायतका व्यक्तिहरूको उपस्थिति थियो। साथै, फिल्मसँग जोडिएका कलाकार विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई र निर्देशक नवीन चौहान लगायत सम्पूर्ण युनिटको सहभागिता रहेको थियो।
फिल्म हेरेपछि उपसभामुख राना मगरले फिल्मले प्रेमको गहिरो भावनालाई सुन्दर ढंगले प्रस्तुत गरेको बताइन् । अभिनेता दयाहाङ राईले ‘ऊनको स्वीटर’ लाई ‘गजबको कृति’ भन्दै सबै पक्ष उत्कृष्ट रहेको प्रतिक्रिया दिए । सांसद सोविता गौतमले दृश्य, सामाजिक परिवेश र कथावस्तु मनमोहक रहेको बताइन् । अभिनेत्री केकी अधिकारीले यो फिल्मलाई आफूले हेरेका उत्कृष्ट प्रेम कथाहरूमध्ये एक भएको बताउँदै निर्देशक चौहानको प्रशंसा गरिन् ।
कलाकारहरू पनि दर्शकको प्रतिक्रियाबाट भावुक भएका थिए । विपिन कार्कीले दर्शकको माया देखेर आफू भावविह्वल भएको बताए भने मिरुना मगरले दर्शकलाई न्यानो माया दिन सफल भएको प्रतिक्रिया दिइन् । एलेक्स पारसले पहिलो फिल्मबाट यस्तो प्रतिक्रिया पाउँदा उत्साहित भएको बताए । परीक्षा लिम्बुले आफू पात्रमै डुबेको अनुभव सुनाइन् । गीतकार तथा गायक सुजन चापागाईँले सबैलाई धन्यवाद दिँदै अब दर्शकको जिम्मामा रहेको बताए । निर्देशक नवीन चौहानले दर्शकको प्रतिक्रियाले आफूलाई न्यानोपन दिएको र यसलाई शब्दमा व्यक्त गर्न गाह्रो भएको बताए ।
‘ऊनको स्वीटर’ को अग्रिम टिकट बुकिङ देशभरका सिनेमाघरहरूमा सुरु भइसकेको छ । सुजन चापागाईँ र झुमा लिम्बुको संगीत रहेको फिल्मका ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ जस्ता गीतहरूले सामाजिक सञ्जालमा लोकप्रियता कमाइसकेका छन् ।
आर्टमाण्डू प्रा.लि.को प्रस्तुति रहेको ‘ऊनको स्वीटर’ मा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राईका साथै सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल र भावना खपाङ्गी मगरको अभिनय रहेको छ ।










