फिल्म । आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘झिंगे दाउ २’को तीन नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मको औपचारिक प्रचार अभियान सुरु भएको जनाएको छ । निर्माण टिमका अनुसार अब फिल्मका गीत, टिजर तथा ट्रेलर सार्वजनिक गर्दै प्रचारप्रसारलाई थप तीव्र बनाइनेछ ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्ममा सुलभ प्रतीक, प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको छ। फिल्ममा विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी. गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । सार्वजनिक गरिएका तीनवटै पोस्टरले फिल्मका फरक-फरक पक्षलाई प्रस्तुत गरेका छन् । एक पोस्टरमा केकी अधिकारी र आँचल शर्मा हर्षित मुद्रामा देखिएका छन् भने हिउँवाला गौतम, महेश त्रिपाठी र कुशल बिष्ट भावुक अवस्थामा चित्रित छन् ।
अर्को पोस्टरमा दशैंको उल्लास झल्काइएको छ । फिल्मका मुख्य चार पात्र उत्सवमय माहोलमा रमाइरहेको देखिएकाले कथावस्तुमा दशैं पर्वको महत्वपूर्ण भूमिका रहेको संकेत मिल्छ । तेस्रो पोस्टरमा अभिनेता आर्यन सिग्देललाई समेत समावेश गरिएको छ । पोस्टरमा मुख्य पात्रहरू आश्चर्यचकित मुद्रामा देखिएका छन् भने आर्यनले उनीहरूलाई रोक्न खोजेजस्तो दृश्य प्रस्तुत गरिएको छ। निर्माण पक्षको विश्वास छ कि यी पोस्टरले फिल्मप्रति दर्शकको उत्सुकता थप बढाउनेछन् ।
फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अयभराज बराल, उत्तम केसी, शिवहरि वैरागी नेपाल, आशा भुसाल, रेनु प्रधान र विनोदकुमार पौडेललगायत कलाकारको अभिनय रहेको छ। साथै, मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माले विशेष भूमिकामा अभिनय गरेका छन् ।
परिच्छेद सेन, गोविन्द फुयाँल र शिशिर चालिसेको पटकथा तथा संवाद रहेको फिल्ममा विवेक बस्नेत र ईश्वर सिन्केमनाको छायांकन रहेको छ । चन्द्रबहादुर भण्डारी र गिरिराज घिमिरे मुख्य सहायक निर्देशकका रूपमा रहेका छन् ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको ‘झिंगे दाउ २’ तीन वर्षअघि प्रदर्शनमा आएको सफल फिल्म ‘झिंगे दाउ’को सिक्वेल हो । पहिलो श्रृंखलाले बक्स अफिसमा राम्रो व्यापार गरेकाले यसको दोस्रो श्रृंखलाप्रति पनि दर्शकको उच्च अपेक्षा रहेको निर्माण पक्षको विश्वास छ ।










