फिल्म । विभिन्न संस्करणका ।बेइजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ मा उत्कृष्ट ठहरिएका चिनियाँ फिल्महरू काठमाडौंमा प्रदर्शन हुने भएका छन् । बेइजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सवको प्रवर्द्धन कार्यक्रम ‘टियानतान अवार्ड प्यानोरामा’ अन्तर्गत आगामी जुन २ देखि ४ (जेठ १९ देखि २१) गतेसम्म ६ अवार्ड विजेता चिनियाँ फिल्म प्रदर्शन गरिने भएको हो ।
चीन फिल्म प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सवले नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानसँगको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागेको हो ।कार्यक्रममा काठमाडौंस्थित चिनियाँ सांस्कृतिक केन्द्र, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका कन्फ्युसियस इन्स्टिच्युटहरूको पनि सहयोग रहने जनाइएको छ ।
नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानका अनुसार ठमेलस्थित छायाँ सेन्टरमा सबै ६ फिल्म स:शुल्क प्रदर्शन गरिनेछ । प्रतिष्ठानका अध्यक्ष केपी पाठकले चिनियाँ फिल्म उद्योगसँग नेपाली फिल्मकर्मीको सम्बन्ध विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
उनले चिनियाँ पक्ष नेपाली बजारप्रति आकर्षित भइरहेको उल्लेख गर्दै नेपाली फिल्मकर्मीलाई चीन भ्रमण गराउने, चीनमा नेपाली फिल्म महोत्सव आयोजना गर्ने तथा नेपाली फिल्मलाई चिनियाँ बजारसम्म पुर्याउने प्रयासमा सहकार्य बढ्दै गएको बताए । उनका अनुसार यस्ता कार्यक्रमले नेपाल र चीनका फिल्मकर्मीबीच सम्बन्ध विस्तार गर्न सहयोग पुग्नुका साथै नेपाली फिल्मलाई चीनको विशाल बजारमा प्रवेश गराउने अवसरसमेत सिर्जना गर्न सक्छ ।
कार्यक्रमको पहिलो दिन तीन फिल्म प्रदर्शन गरिने तालिका रहेको छ । बिहान ११ः३० बजे प्रदर्शन हुने पहिलो फिल्म ‘ट्र्याप’ हो । सन् १९९५ मा चीनमा बन्दुकमाथि प्रतिबन्ध लाग्नुभन्दा एक वर्षअघि जेलबाट भागेका एक गुण्डाले सहरमा मच्चाएको आतंकको कथामा आधारित यो फिल्म क्राइम थ्रिलर विधामा निर्माण गरिएको हो ।
फिल्मका निर्देशक सागर झाङ हुन् । यसले बेइजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट पटकथा र उत्कृष्ट सहायक अभिनेताको अवार्ड जितेको थियो । प्रदर्शनपछि निर्देशक झाङसँग दर्शकको प्रश्नोत्तर कार्यक्रम पनि आयोजना गरिने जनाइएको छ ।
दिउँसो ३ बजे झिहाई लिउ निर्देशित ‘बियोन्ड द स्काइज’ प्रदर्शन हुनेछ । युद्धको पृष्ठभूमिमा आधारित यो फिल्मले मानवीय संघर्षको कथा प्रस्तुत गर्छ । साँझ ५ बजे वु शुआङ निर्देशित ‘समर डायरी’ प्रदर्शन गरिनेछ । आमाको खोजीमा निस्किएको एक पात्रको यात्रामा आधारित यो फिल्म भावनात्मक कथावस्तुमा केन्द्रित छ ।
कार्यक्रमअन्तर्गत रुई कुई र सियाङ लिउ निर्देशित ‘लस्ट इन द स्टार’ पनि प्रदर्शन गरिनेछ । गर्भवती महिला हराएपछि उत्पन्न हुने रहस्यमय घटनाक्रममा आधारित यो फिल्म सस्पेन्स र थ्रिलर शैलीमा निर्माण गरिएको हो । त्यसैगरी झाङ लु निर्देशित ‘द स्याडोलेस टावर’ पनि दर्शकमाझ प्रस्तुत गरिनेछ । प्रेमकथामा आधारित यस फिल्मले समकालीन सम्बन्धका विभिन्न पक्षलाई चित्रण गरेको छ ।
दाशाङ कोङ निर्देशित विज्ञानकथामा आधारित फिल्म ‘जर्नी टु द वेस्ट’ पनि महोत्सवमा प्रदर्शन हुनेछ । एलियनको खोजीलाई केन्द्रमा राखेर निर्माण गरिएको यो फिल्म व्यंग्यात्मक वृत्तचित्र शैलीमा तयार गरिएको छ ।










