‘मितज्यू’ हेरेपछि निर्देशक सुब्बाले दिए यस्तो प्रतिक्रिया

फिल्म । निर्देशक नवीन सुब्बाले फिल्म ‘मितज्यू’ले समाजका विभिन्न तह र पक्षलाई गहिरो रूपमा उजागर गरेको बताएका छन् । उनका अनुसार फिल्मले राजनीतिक, सामाजिक, आर्थिक तथा पारिवारिक आयामलाई एकसाथ प्रस्तुत गरेको छ । फिल्मले गरेको राजनीतिक संकेत अहिलेको नेपाली राजनीतिक परिवेशसँग मेल खाने नवीनको तर्क छ । उनले भने, ‘पुराना पार्टी समाप्त हुँदै गएको र नयाँ सोच उदाएको कुरा फिल्मले लाक्षणिक रूपमा देखाएको छ । चरित्र निर्माणमै त्यो कुरा समेटिएको छ ।’

नेपाली फिल्मले यसरी पहिलोपटक बोलेको आफूलाई महसुस भएको उनले बताए । राजनीतिक घटनाक्रमलाई कथामा रूपान्तरण गरेर पात्रमार्फत प्रतीकात्मक रूपमा प्रभावकारी ढंगले प्रस्तुत गरिएको उनको भनाइ छ । नयाँ कलाकार भए पनि तेरिया मगर ले उत्कृष्ट अभिनय गरेको भन्दै नवीनले प्रशंसा गरे । उनले तेरियाको अभिनय डेब्यु फिल्मजस्तो नलाग्ने बताए । साथै सौगात मल्ल र दयाहाङ राई सँगको उनको अभिनय पनि परिपक्व देखिएको उनको भनाइ छ ।

नवीनका अनुसार दयाहाङ र सौगातले पनि आवरण र भावनात्मक अभिव्यक्तिमा प्रभावशाली काम गरेका छन् । ‘यो फिल्मले धेरै चुनौती दिएको छ । हामीमा परिवारको जुन अवधारणा छ, त्यसलाई नै प्रश्न गरेको छ । लोकल कथा उठाएर फिल्मले धेरै कुरा बोलेको छ । भर्खर खुलेको बाटो र जीपको प्रसंगमार्फत रोल्पा र रुकुमभन्दा अगाडि बढेर समग्र नेपाली समाजको सोच प्रक्रियामाथि नै प्रश्न गर्छ । यो पक्ष मलाई निकै गज्जब लाग्यो’, उनले भने ।

यस्ता फिल्म बन्नुपर्ने र दर्शकले माया गर्नुपर्नेमा उनले जोड दिए । उनका अनुसार यस्ता फिल्मलाई दर्शकले साथ दिए अझ धेरै यस्ता सिर्जना बन्नेछन् र यसले समाज निर्माणमै सहयोग पुग्नेछ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल र तेरिया मगर मुख्य भूमिकामा छन् ।

फिल्ममा उनीहरूसँगै खड्गबहादुर पुन मगर, शिशिर वाङ्देल, पुष्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा र स्मिता लामिछाने लगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मका लगानीकर्ता जनक घर्तीमगर हुन् । फिल्मलाई अनिल बुढा मगर ले निर्देशन गरेका हुन् । फिल्मको सम्पादन लोकेश बज्राचार्यले गरेका छन् भने छायांकन शिशिर बिशंखेको रहेको छ ।

कमेन्ट गर्नुहोस्