यसवर्ष मध्य जेठसम्म धेरै कमाउने फिल्म बन्यो ‘लालीबजार’

फिल्म । चलचित्र विकास बोर्डले हाल फिल्म भवनमा प्रदर्शनरत नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गतको ‘सिनेपा @ बक्सअफिस’ले जेठ ९ गते शनिबारसम्मको व्यापार विवरण सोमबार सार्वजनिक गरेको हो ।

सार्वजनिक तथ्यांकअनुसार ‘परालको आगो’ ले ४ करोड २७ लाख ५३ हजार ६४५ रुपैयाँ कमाइ गरेको छ । लक्ष्मण सुनारको निर्देशन तथा सुशील पोखरेलको निर्माण रहेको फिल्मका लागि १ लाख ५३ हजार ९२५ टिकट बिक्री भएका छन् । गत वैशाख ११ गतेदेखि प्रदर्शनमा आएको फिल्ममा प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल र सिर्जना अधिकारी लगायत कलाकारको अभिनय रहेको छ ।

त्यसैगरी, ‘लालीबजार’ले गत शनिबारसम्म ५ करोड ७६ लाख ३९ हजार ४७१ रुपैयाँ कमाइ गरेको छ । फिल्मका लागि कुल १ लाख ९६ हजार ४०६ टिकट बिक्री भएका छन् । गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको फिल्मले घरेलु बजारमा राम्रो सफलता हासिल गरेको कार्यकारी निर्माता प्रदीप भट्टराईले बताएका छन् ।

उनले मनोरञ्जनसँगै शिक्षाको प्रभावलाई फिल्ममार्फत प्रस्तुत गरिएको र दर्शकले त्यसलाई रुचाएको प्रतिक्रिया दिए । उनका अनुसार दर्शकले फिल्मको विषयवस्तु, निर्देशन र कलाकारहरूको अभिनयलाई सकारात्मक रूपमा प्रशंसा गरेका छन् । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा र प्रसंशा सुवेदी लगायत कलाकारको अभिनय रहेको छ ।

यस्तै, वैशाख २५ गतेदेखि प्रदर्शनरत ‘मालती मङ्गले’ले ५१ लाख ६३ हजार ५९३ रुपैयाँ व्यापार गरेको छ । फिल्मका लागि १६ हजार १३७ टिकट बिक्री भएका छन् । रामकृष्ण ढकालद्वारा निर्मित तथा प्रकु पाण्डेय निर्देशित फिल्ममा वर्षा राउत, विजय बराल र मेक्सम गौडेल लगायत कलाकारको अभिनय रहेको छ । फिल्मले अपेक्षाअनुसार व्यापार गर्न नसकेको देखिएको छ ।

त्यस्तै, ‘गुरु आमा’ ले २९ लाख ४२ हजार ५७६ रुपैयाँ कमाइ गरेको छ । फिल्मका लागि ९ हजार ३२७ टिकट बिक्री भएका छन् । प्रेम सोनी सुनार निर्देशित फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टिका सानु, सुस्मा थापा, सुशील पोखरेल र धुर्व कोइराला लगायत कलाकारको अभिनय रहेको छ ।

गत जेठ १ गतेदेखि प्रदर्शनमा आएको ‘एक मुठ्ठी बादल’ले ५ लाख २१ हजार ८२५ रुपैयाँ कमाइ गरेको छ । सहारा शर्मा निर्देशित फिल्मका लागि १ हजार ५०५ टिकट बिक्री भएका छन् । फिल्ममा आँचल शर्मा, सहयोग अधिकारी, उषा रजक र निशा शर्मा लगायत कलाकारको अभिनय रहेको छ ।

यस्तै, जेठ १ गतेदेखि प्रदर्शनरत ‘लाइफ ड्यामेज’ले २८ लाख ४६ हजार १७० रुपैयाँ कमाइ गरेको छ । निमेष श्रेष्ठ निर्देशित फिल्मका लागि ९ हजार २४१ टिकट बिक्री भएका छन् । ‘फ्यान्टासी कमेडी ड्रामा’ शैलीमा निर्माण गरिएको फिल्ममा सुरक्षा पन्त, निमेष श्रेष्ठ, ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीश जंग थापा, अजय पन्त, सविन बास्तोला र निरु खड्का लगायत कलाकारले अभिनय गरेका छन् ।

चलचित्र विकास बोर्डले प्रत्येक सोमबार नेपाली फिल्महरूको बक्स अफिस विवरण सार्वजनिक गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्