दसैँमा घरमै हेर्नुस् ‘महाजात्रा’ र ‘दिमाग खराब’

फिल्म । गत वर्ष नेपालमा ५१ औँ दिन मनाउन सफल दुई फिल्म ‘महाजात्रा’ र ‘दिमाग खराब’ ओटीटीमा रिलिज हुने भएको छ । अष्ट्रेलियासँगै डायस्पोरामा नेपाली फिल्म वितरण, म्युजिकल इभेन्ट गरिरहेको एमएसएम इन्टरटेन्मेन्ट्सद्वारा संचालित एमएसएम भिडियोमा दुई फिल्म घटस्थापना र विजयादशमीमा प्रदर्शन हुँदैछ ।

‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ ले काठमाडौँ उपत्यकाका क्युएफएक्स अन्तर्गत सिभिल मल, भक्पुर, छायाँ सेन्टर, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विग मुभिज, सिनेडी सेफ र मोफसलमा नेपालगञ्जमा रहेको सिने रोयलमा प्रदर्शनको ५१ औँ दिन पुरा गरेको थियो । यस्तै ‘दिमाग खराब’ ले रञ्जना सिनेप्लेक्समा उक्त सफलता प्राप्त गरेको थियो ।

दुवै फिल्म व्यावसायिक रुपमा अब्बल छन् । यी मार्फत ओटीटी प्लेटफर्मको सुरुआत गर्न पाउँदा आफू उत्साहित गरेको संचालक छत्र थापाले बताएका छन् । उनले उक्त ओटीटीमा नयाँ फिल्म, वेब सिरिज, प्रिमियम शो पनि विस्तारै उपलब्ध हुने बताए । नेपाली फिल्मलाई विश्वभरका दर्शकसम्म पुर्याएर डिजिटल माध्यममा बलियो उपस्थिति देखाउन आफूले अन्तर्राष्ट्रिय वितरणसँगै ओटीटीमा आबद्ध भएको थापाले जानकारी दिए । उनले ‘दिमाग खराब’ घटस्थापना र ‘महाजात्रा’ विजयादशमीमा एमएसएम भिडियोमार्फत सार्वजनिक गरिने जानकारी दिए ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ रहेको ‘महाजात्रा’ मा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, दिव्य देव लगायतका कलाकारको अभिनय रहेको छ ।

यस्तै निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’ मा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का, विजय बराल लगायतका कलाकारको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्