पूर्वेली दर्शक भेट्न पुगिन् मिरुना

फिल्म । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ले बक्सअफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ । देशभर राम्रो कमाइ गरिरहेको फिल्मले विशेषगरी पूर्वी नेपालका हलहरूमा आक्रामक प्रदर्शन गरेको छ ।

लिम्बू समुदायको कथामा आधारित यो फिल्मले बक्सअफिसमा सफलता पाइरहँदा, निर्देशक उपेन्द्र सुब्बा र अभिनेत्री मिरुना मगर दर्शकहरूसँग साक्षात्कार गर्न पूर्वी नेपाल पुगेका थिए । सोमबार झापाको दमक र बिर्तामोडमा दर्शकहरूसँग भेटघाट गरेको टिमले मंगलबार सुनसरीको धरान र इटहरीका विभिन्न हलहरूमा पुगेर दर्शक साक्षात्कार गरेको छ ।

फिल्मको व्यापारिक सफलतासँगै, मंगलबारबाट यसको १४ मिनेट लामो दृश्य थपेर ‘डिरेक्टर्स कट’ भर्सन प्रदर्शनमा ल्याइएको छ । निर्देशक उपेन्द्र सुब्बाले पूर्वी नेपालका दर्शकको न्यानो स्वागत र मायाले आगामी दिनमा अझै राम्रो फिल्म पस्किनुपर्ने चुनौती महसुस भएको बताए ।

यता, फिल्मकी मुख्य अभिनेत्री मिरुना मगरले पनि आजबाट प्रदर्शनमा आएको नयाँ भर्सनले दर्शकमा थप उत्साह पैदा गरेको बताइन् । उपेन्द्र सुब्बा लिखित तथा निर्देशित यस फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्। फिल्ममा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म यस वर्ष व्यापार गर्ने फिल्महरूको श्रेणीमा राखिएको छ। फिल्ममा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ।

कमेन्ट गर्नुहोस्