‘काजी’ को अग्रिम टिकट बुकिङ तथा बिक्री खुला

फिल्म । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘काजी’ को अग्रिम टिकट बुकिङ तथा बिक्री खुला गरिएको छ । फिल्मको ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ यसको बढ्दो उत्साहलाई ध्यानमा राखेर देशभरका मल्टिप्लेक्सले फिल्मलाई शो उपलब्ध गराउन थालेका छन् । यद्यपि फिल्मले पाउने कुल शो सङ्ख्या बिहिबार विहानसम्म मात्र निर्क्यौल हुनेछ ।

कथा, पात्र र अभिनयका कारण अभिनेता विपिन कार्की चर्चामा छन् । उनका अनुसार ‘काजी’ आफूले यसअघि नगरेको फरक शैलीको प्रेमकथामा आधारित फिल्म हो । रामप्रसाद रिजालको लगानीमा तयार भएको फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका छन् । श्रीमान्-श्रीमतीबीचको समझदारी, त्याग र सँगै खुसी भएर बाँच्ने भावनालाई फिल्मको केन्द्रमा राखिएको छ ।

फिल्ममा विपिनसँगै केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट र हिउँवाला गौतमलगायत कलाकारहरूको अभिनय रहेको छ । प्रदीप भारद्वाजको कथा रहेको फिल्मलाई रामप्रसाद रिजालले प्रस्तुत गरेका हुन् ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा नेहान रिजाल र विकाशराज जोशी निर्माता रहेका छन् । चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत र विपीन मल्लको सम्पादन रहेको फिल्म ‘काजी’लाई श्रीराम बालाजी फिल्म्सले वितरण गर्ने जिम्मेवारी लिएको छ ।

कमेन्ट गर्नुहोस्