रामकृष्णले सार्वजनिक गरे ‘झुटो आरोप’

फिल्म । ‘मालती मङ्गले’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । नेपालभरका हलहरूमा दर्शकको उल्लेख्य साथ र सकारात्मक प्रतिक्रिया पाइरहेको फिल्मले दोस्रो सातासँगै ‘झुटो आरोप’ बोलको नयाँ गीत सार्वजनिक गरेको छ ।

रामकृष्ण ढकालको स्वर रहेको मर्मस्पर्शी गीत ‘झुटो आरोप’मा गोपाल अधिकारीको शब्द तथा हरि लम्सालको संगीत रहेको छ । गीतमा रिकेश गुरुङको संगीत संयोजन तथा चन्द्र चौधरीको मिक्सिङ र मास्टरिङ रहेको छ । निर्माण पक्षका अनुसार गीतले फिल्मको कथावस्तुलाई थप जीवन्त बनाउने विश्वास लिइएको छ ।

उक्त फिल्म गत मे १५ देखि उत्तर अमेरिकामा पनि प्रदर्शनमा आएको छ । सेभेन सिज इन्टरनेशनल फिल्म्स र नेपाल ११ इन्टरटेनमेन्टको सहकार्यमा अमेरिकाका सान फ्रान्सिस्को, ड्यालस, सिकागो, क्लिभल्याण्ड, सिनसिनाटी, कोलम्बस र अस्टिन लगायतका सहरहरूमा दैनिक शोसहित फिल्म प्रदर्शन भइरहेको छ । अङ्ग्रेजी सबटाइटलसहित प्रदर्शन भइरहेको फिल्मको अग्रिम बुकिङ उत्साहजनक रहेको निर्माण पक्षले जनाएको छ ।

त्यस्तै, क्यानडा प्रदर्शनका लागि आँगन इभेन्ट्सले प्रदर्शन अधिकार खरिद गरिसकेको छ । निर्माता रामकृष्ण ढकालका अनुसार अन्य देशहरूमा पनि फिल्मको प्रदर्शन अधिकार ‘सोल्ड आउट’ भइरहेको छ । दर्शकले फिल्मलाई हास्य र भावनाले भरिएको ‘नेपालीपन बोकेको अब्बल मास्टरपिस’को संज्ञा दिएका छन् । विशेषगरी वर्षा राउतको मर्मस्पर्शी अभिनय तथा विजय बराल र मेक्सम गौडेलको जीवन्त प्रस्तुतिको प्रशंसा भइरहेको छ ।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन् । निर्देशक पाण्डेय स्वयंको कथा रहेको फिल्मको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् । फिल्ममा विजय, वर्षा र मेक्समसँगै प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङको अभिनय रहेको छ ।

सागर ज्ञवाली कार्यकारी निर्माता रहेको फिल्ममा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्