फिल्म । नीता ढुंगानाको डेब्यु निर्देशकीय फिल्म ‘पार्वती’ को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण पक्षले शुक्रबार आयोजित कार्यक्रममा फिल्मका दुई पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरहरूले दर्शकमाझ उत्सुकता बढाएको छ । पोस्टरमा नीतालाई फरक र चुनौतीपूर्ण चरित्रमा प्रस्तुत गरिएको देखिन्छ ।
एक पोस्टरमा उनी स्कुले छात्राको पोसाक, छोटो कपाल, घाँटीमा कालो धागो र नीलो पिनाफोरमा देखिएकी छन् । उनको ‘डी-ग्लाम’ लुक्सले पात्र ‘पार्वती’ कुनै विशेष मानसिक वा सामाजिक अवस्थाबाट गुज्रिरहेको संकेत गर्छ । पोस्टरमा देखिएको उनको हेराइ र मुस्कानले पात्रभित्रको निर्दोषता र आफ्नै संसारमा रमाउने स्वभावलाई चित्रण गरेको अनुमान गरिएको छ ।
अर्को पोस्टरमा बालगायक तथा कलाकार अशोक दर्जीले नीतालाई पिठ्युँमा बोकेको दृश्य प्रस्तुत गरिएको छ । पोस्टरले दुवै पात्रबीचको भावनात्मक सम्बन्ध र आत्मीयतालाई संकेत गरेको छ । निर्माण पक्षका अनुसार फिल्मले दिदी-भाइको सम्बन्ध र सामाजिक जिम्मेवारीलाई मुख्य विषय बनाउनेछ ।
पोस्टरको पृष्ठभूमिमा ‘माया’, ‘परिवार’, ‘स्नेह’ र ‘किरण’ जस्ता शब्दहरू लेखिएकाले फिल्मको कथा विद्यालय तथा पारिवारिक परिवेशसँग जोडिएको अनुमान गरिएको छ । फिल्म आगामी २०८३ सालको रक्षाबन्धन, भदौ १२ गते प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।
नीता ढुंगानाले यस फिल्ममा कथा, पटकथा, निर्देशन तथा मुख्य भूमिका आफैं सम्हालेकी छन् । निर्माण पक्षका अनुसार ‘पार्वती’ नीताको ‘ड्रिम प्रोजेक्ट’ हो ।ट्राइडेन्ट कन्सेप्टले तयार पारेका पोस्टरहरूले फिल्मलाई पारम्परिक शैलीभन्दा फरक भावनात्मक कथावस्तुमा आधारित रहेको संकेत दिएका छन् ।
फिल्ममा नीता ढुंगाना र अशोक दर्जीसँगै दीपाश्री निरौला, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेल लगायत कलाकारको अभिनय रहेको छ । नीता ढुंगाना फिल्म्सको प्रस्तुति रहेको फिल्मका निर्माता हरिहर अधिकारी हुन् ।
फिल्ममा सुदीप बराल डीओपी, शिवम् अधिकारी संवाद लेखक तथा सरोज अधिकारी क्रिएटिभ निर्देशक रहेका छन् । सरोज पहिलो पटक क्रिएटिभ निर्देशकका रूपमा फिल्ममा आबद्ध भएका हुन् । फिल्मको प्रोडक्सन शंकर पाण्डेले सम्हालिरहेका छन् । उनी फिल्मका कार्यकारी निर्माता पनि हुन् । फिल्ममा साहिल खानको सम्पादन रहनेछ ।
फिल्ममा युवराज काफ्ले, हर्क साउद, बाबुल गिरी र सिद्धार्थ सरकार पौडेलका गीत रहनेछन् । संगीतमा प्रशान्त सिवाकोटी, बाबुल गिरी, सिद्धार्थ सरकार पौडेल र दीपक शर्मा रहेका छन् ।
यस्तै, फिल्ममा रामजी लामिछानेको नृत्य निर्देशन, नवराज शर्माको सहायक निर्देशन तथा अलिस कार्कीको पार्श्व संगीत रहनेछ । रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनी ले फिल्मको वितरण गर्नेछन् ।











