फिल्म । गत वैशाख ११ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ मा समावेश गीत ‘बिरही बतास’ सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक गरिएको उक्त गीतमा स्वरूपराज आचार्यको स्वर, सुरेन्द्र रानाको शब्द रचना तथा सत्य–स्वरूपको संगीत रहेको छ। गीतको भिडियो सार्वजनिक भएसँगै फिल्मको प्रवर्द्धनमा थप टेवा पुगेको निर्माण पक्षले जनाएको छ।
‘बिरही बतास’ गीतले फिल्मको कथावस्तुलाई अझ गहिरो बनाउँदै दर्शकको मन जित्ने विश्वास निर्माण टिमले लिएको छ। गीतमा संगीत संयोजन रिकेश गुरुङले गरेका छन् भने रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन्। मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका छन्।
फिल्म ‘परालको आगो’मा प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। साथै शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र मञ्जिल बानियाँको पनि अभिनय रहेको छ।
हरिओम सिने मेकर्स प्रालिको ब्यानरमा सुशील पोखरेलद्वारा निर्माण गरिएको उक्त फिल्मले प्रदर्शनको नवौं दिनसम्म ३ करोड १३ लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्न सफल भएको निर्माता पोखरेलले जानकारी दिएका छन्।












