‘वर्ल्ड अफ डान्स’को दोस्रो संस्करण नेपालमा

सङ्गीत । विश्वव्यापी रूपमा ख्यातिप्राप्त नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स’को नेपाली संस्करण ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’को औपचारिक घोषणा गरिएको छ । आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको दोस्रो संस्करण सार्वजनिक गर्दै निर्णायक समिति, पुरस्कार राशि र अडिसनका मितिहरू घोषणा गरिएको हो । सन् २००८ मा दक्षिणी क्यालिफोर्नियाबाट सुरु भई ५० भन्दा बढी देशमा फैलिएको यो अन्तर्राष्ट्रिय प्लेटफर्मलाई नेपालमा ल्याएर नेपाली प्रतिभालाई विश्व मञ्चमा चिनाउने उद्देश्य आयोजकको रहेको छ ।

पत्रकार सम्मेलनमा कार्यक्रमको ट्रेलर प्रदर्शन गर्नुका साथै निर्णायक मण्डलको परिचय गराइएको थियो । समारोहको मुख्य आकर्षणका रूपमा बलिउडका चर्चित कोरियोग्राफर टेरेन्स लुइसलाई ‘सेलिब्रेटी ग्रान्ड जज’का रूपमा घोषणा गरिएको छ । उनी ‘डान्स इन्डिया डान्स’ र ‘इन्डियाज बेस्ट डान्सर’ जस्ता लोकप्रिय भारतीय रियालिटी शोका निर्णायकका रूपमा परिचित छन् ।

ग्रान्ड जज टेरेन्स लुइससँगै निर्णायक मण्डलमा ‘वाइल्ड रिपर्ज क्रु’का सदस्य किरण थापा र ‘वर्ल्ड अफ डान्स नेपाल’का कलात्मक निर्देशक जेडी तमु रहनेछन् ।

कार्यक्रममा बोल्दै ‘वर्ल्ड अफ डान्स नेपाल’का राष्ट्रिय निर्देशक रोशन गहतराजले नेपाली डान्सरहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । कलात्मक निर्देशक जेडी तमुले नेपाली कलाकारहरूले अन्तर्राष्ट्रिय मञ्चमा देखाएको प्रस्तुतीबाट प्रभावित भएर यो फ्रेन्चाइज नेपाल ल्याइएको जानकारी दिए । उनका अनुसार प्रतियोगितामा नेपालको रैथाने संस्कृति र नृत्यलाई प्राथमिकता दिइनेछ भने भारतीय डान्सरहरूले पनि अडिसनमा सहभागिता जनाउन पाउनेछन् ।

यस कार्यक्रममा अमेरिकी दूतावासले पनि सहकार्य जनाएको छ । दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले रचनात्मक उद्योगमा सहकार्य गर्न पाउँदा खुशी लागेको उल्लेख गर्दै यसले दुई देशबीच सांस्कृतिक आदानप्रदानलाई थप सुदृढ बनाउने बताए ।

पत्रकार सम्मेलनमा अभिनेता दयाहाङ राई, बुद्धि तामाङ, नृत्याङ्गना कविता नेपाली, नायिका परीक्षा लिम्बु, अभिनेता प्रशान्त ताम्राकार र मिडिया व्यक्तित्व सिसन बानियाँलगायतको उपस्थिति रहेको थियो । उनीहरूले कार्यक्रमले नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

समारोहमा विजेतालाई प्रदान गरिने २४ क्यारेट गोल्ड प्लेटेड ट्रफीसमेत सार्वजनिक गरिएको थियो । प्रतियोगिता अपर डिभिजन, जुनियर डिभिजन, अपर टिम डिभिजन र जुनियर टिम डिभिजन गरी चार विधामा सञ्चालन हुनेछ । प्रत्येक विधाका विजेताले १ लाख रुपैयाँ नगद, ट्रफी तथा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

यसका अतिरिक्त उत्कृष्ट पहिरन, उत्कृष्ट विषयवस्तु र दर्शकको रोजाइका विधामा पनि अवार्ड प्रदान गरिनेछ । विजेताले विश्व मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत प्राप्त गर्नेछन् ।

नेपालभरका प्रतिभालाई समेट्न पाँच सहरमा अडिसन सञ्चालन गरिनेछ । वैशाख १९ गते नेपालगञ्ज, वैशाख २२ गते बुटवल, वैशाख २६ गते पोखरा, वैशाख ३० गते काठमाडौँ र जेठ २ गते इटहरीमा अडिसन हुनेछ ।

अडिसनबाट छनोट भएका प्रतिस्पर्धीहरूबीच जेठ २१ गते सेमिफाइनल प्रतिस्पर्धा हुनेछ भने प्रतियोगिताको ग्रान्ड फिनाले जेठ २३ गते आयोजना गरिने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्