फिल्म । चलचित्र विकास बोर्डले हाल फिल्म भवनमा प्रदर्शनरत नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गतको ‘सिनेपा @ बक्सअफिस’ले प्रदर्शनरत नेपाली फिल्महरूको यही वैशाख ५ गते शनिबारसम्मको व्यावसायिक विवरण आज सार्वजनिक गरेको हो । गएको चैत २७ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘राम नाम सत्य’ले रु २ करोड ७८ लाख १८ हजार ८४१ को व्यापार गरेको छ । उक्त फिल्मका लागि कूल ९ हजार २०५ टिकट बिक्री भएका छन् ।
माइकल चन्दको निर्देशनमा बनेको उक्त फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, सुनिल थापा, सुधिर श्रेष्ठ, आयुष सिंह ठकुरी, खुसी कार्की लगायतले अभिनय गरेका छन् । निर्देशक चन्दले फिल्मलाई सामाजिक सन्देशसँगै पूर्ण मनोरञ्जक बनाउने प्रयास गरिएको बताउनुभयो । फिल्ममा मानकृष्ण महर्जनको छायाङ्कन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन र सियोन श्रेष्ठको नृत्य निर्देशन रहेको छ ।
गत वैशाख १ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘पहाड’ले रु ४६ लाख ७६ हजार ६३७ कमाइ गरेको छ । वरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशनमा बनेको उक्त फिल्मका लागि कूल १४ हजार ३१८ टिकट बिक्री भएका छन् । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र त्यसले निम्त्याउने सामाजिक तथा आर्थिक समस्यालाई चित्रण गरेर फिल्म निर्माण गरिएको निर्देशक घिमिरेले बताए ।
निर्देशक घिमिरेले दर्शकसँगै यो फिल्म घर, परिवार र समाजसम्म विचारका रूपमा पुग्ने विश्वास व्यक्त गरे । भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘पहाड’मा बिपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनु नाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीका रूपमा दर्शकसामु प्रस्तुत गरेका चाहन ।
उक्त फिल्ममा प्रमोद प्रधानको छायाङ्कन, रञ्जितसिंह गजमेरको सङ्गीत निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन तथा शङ्कर कोइराला र भारती घिमिरेको दृश्य सम्पादन रहेको छ ।












