फिल्म । जेठ ८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मितज्यू’को टिजर सार्वजनिक गरिएको छ । आइतबार ओएसआर युट्युबमार्फत सार्वजनिक गरिएको टिजरले ग्रामीण परिवेशमा आधारित कथा प्रस्तुत गरेको छ । टिजरमा दयाहाङ राई र सौगात मल्ल गाडी चलाएर जीविका चलाउने पात्रका रूपमा देखिएका छन्। एउटी केटीका कारण उनीहरूबीच झगडा सुरु हुन्छ। झगडा बढ्दै गएपछि उनीहरूलाई नजुधुन् भन्ने उद्देश्यले ‘मित’ लगाइन्छ। यसमार्फत हराउँदै गएको मितेरी सम्बन्धलाई पुनः प्रस्तुत गर्ने प्रयास गरिएको देखिन्छ।
टिजरमा दुवै पात्र ज्योतिषकहाँ पुगेको दृश्य पनि समावेश छ, जहाँ परस्त्रीसँगको सम्बन्धबारे संकेत गरिँदा उनीहरू अत्तालिएको देखिन्छ। यही सेरोफेरोमा कथा अघि बढ्ने संकेत टिजरले दिएको छ। करिब २ मिनेट लामो टिजरमा दयाहाङ राई र सौगात मल्लसँगै खड्गबहादुर पुन मगर (खबपु), तेरिया फौजा मगर, शिशिर वाङ्देल लगायत कलाकार देखिएका छन्।
अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगरसँगै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई लगायतको अभिनय रहनेछ। यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्ती मगर हुन्। फिल्मको सम्पादन लोकेश बज्राचार्यले गरेका छन् भने छायांकन शिशिर बिशंखेले गरेका हुन्। फिल्मका मुख्य सहायक निर्देशक फिरोज खड्का रहेका छन्। गीतमा संगीत श्रीकृष्ण बम मल्लले दिएका छन् भने मेलिना राई र लक्ष्मी मल्लको स्वर रहेको छ। आरआर फिल्म्सले वितरण गर्ने यस फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ। निर्माण टिम फिल्मप्रति निकै उत्साहित देखिएको छ।










