‘राम नाम सत्य’ को सिक्वेल बन्छ : आयुष

फिल्म । टिकटकमार्फत लोकप्रियता कमाएका आयुष सिंह ठकुरी अब नेपाली फिल्ममा डेब्यू गर्ने तयारीमा छन् । माइकल चन्दको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘राम नाम सत्य’बाट उनले अभिनय यात्रा सुरु गर्न लागेका हुन् । उक्त फिल्म चैत २७ गते (शुक्रबार)देखि देशभर प्रदर्शनमा आउनेछ ।

फिल्म प्रदर्शनको केही दिनअघि आयोजित मिडिया अन्तरक्रियामा आयुषले आफू निकै उत्साहित रहेको बताए । उनले भने, ‘फिल्मको कथावस्तु मन परेकै कारण काम गरेको हुँ । धेरै फिल्मको प्रस्ताव आए पनि ‘राम नाम सत्य’को कथाले आकर्षित गर्‍यो र काम गर्न तयार भएँ ।’

फिल्ममा आफ्नो भूमिका दर्शकका लागि सरप्राइज हुने उनको दाबी छ । उनले भने, ‘मैले बोलेको एउटा संवाद ट्रेलरमा समावेश छ। ट्रेलर सार्वजनिक हुँदा मेरो परिवार र आफन्तले समेत मेरो स्वर चिन्न सकेनन्। पछि मैले नै त्यो संवाद मेरो हो भनेर बताएपछि उनीहरू छक्क परे। फिल्मका लागि मैले निकै मेहनत गरेको छु।’

आयुषले अहिले फिल्मको व्यापारभन्दा दर्शकको प्रतिक्रिया महत्वपूर्ण रहेको बताए । ‘सुरुवातमा दर्शकले मेरो काम मन पराउनु आवश्यक छ’, उनले भने । टिकटकमा लाखौं फलोअर्स भएका आयुषका लागि ती दर्शकलाई हलसम्म ल्याउनु चुनौतीपूर्ण छ । यसबारे उनले भने, ‘विदेशमा बस्ने नेपालीहरूले पनि नेपालमा रहेका आफन्तका लागि टिकट किनिदिने र हल बुक गरिदिने बताउनुभएको छ । दर्शक फिल्मप्रति उत्साहित देखिन्छन् ।’

उनले ‘राम नाम सत्य’को सिक्वेल बन्ने जानकारी पनि दिए । ‘यस फिल्मको सिक्वेल पनि बन्दैछ । त्यसमा मेरो भूमिका के हुन्छ भन्ने बुझ्नका लागि पनि पहिलो भाग हेर्न आवश्यक छ’, उनले भने । आयुषका अनुसार उनले फिल्मका लागि शतप्रतिशत मेहनत गरेका छन् । सस्पेन्स-थ्रिलर कथावस्तुमा आधारित फिल्मले हरेक कोणबाट दर्शकलाई मनोरञ्जन दिने उनको विश्वास छ ।

उनले आगामी दिनमा फिल्म क्षेत्रमा निरन्तर काम गर्ने संकेत समेत गरे । ‘अझै धेरै सिक्न र आफूलाई तयार पार्न बाँकी छ। हतारमा काम गर्नेभन्दा पनि निरन्तर यही क्षेत्रमा अघि बढ्ने योजना छ’, उनले भने।

उपेन्द्र शाही र स्वेता विमलीको निर्माणमा बनेको फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनील थापा, प्रशान्त ताम्राकार र खुशी कार्की लगायतका कलाकारहरूको अभिनय रहेको छ। नयाँ वर्षको अवसरमा सोलो रिलिजमा आउन लागेको फिल्मले राम्रो ओपनिङ गर्ने वितरकहरूको अपेक्षा छ।

कमेन्ट गर्नुहोस्