‘शोले’ निर्देशक सिप्पीसँग राजेश हमालले संवाद गर्ने

फिल्म । बलिउडका लेजेन्ड निर्देशक, निर्माता तथा कलाकार रमेश सिप्पी र नेपाली फिल्मका महानायक राजेश हमालबीच संवाद कार्यक्रम आयोजना हुने भएको छ । चैत १९ देखि २३ सम्म सञ्चालन हुने नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत अन्तरक्रियात्मक कार्यक्रमका रूपमा उक्त संवाद तय गरिएको आयोजकले जनाएको छ।

निफका अध्यक्ष केपी पाठकका अनुसार चैत २१ गते दिउँसो ३ बजे नेपाल पर्यटन बोर्डमा ‘सिनेमा संवाद : रमेश सिप्पी र राजेश हमालसँग’ शीर्षकमा कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा नेपाली र बलिउड फिल्म उद्योगको यात्रा, व्यक्तिगत अनुभव, तथा फिल्मको विगत, वर्तमान र भविष्यबारे दुवै कलाकारबीच विचार आदान–प्रदान हुने बताइएको छ।

अध्यक्ष पाठकले दुई दिग्गज व्यक्तित्वको उपस्थितिले नेपाली फिल्म क्षेत्र र बलिउडबीचको सम्बन्ध अझ विस्तार हुने अपेक्षा गरिएको बताए। निफको उद्घाटन समारोहमा सहभागी हुन निर्देशक सिप्पी चैत १८ गते काठमाडौं आउने कार्यक्रम रहेको छ।

निर्देशक सिप्पीले दर्जनभन्दा बढी बलिउड फिल्म निर्देशन गरेका छन्। बलिउडको ऐतिहासिक फिल्म शोले उनको निर्देशनमा बनेको हो। उनले शाहरुख खान, अमिताभ बच्चन, सञ्जय दत्त, ज्याक्की श्रफ, मिथुन चक्रवर्ती, ऋषि कपूर, सञ्जीव कुमार, शशी कपूर, धर्मेन्द्र र राजेश खन्नाजस्ता कलाकारलाई निर्देशन गरेका छन्।

अभिनेता हमालले २०० भन्दा बढी नेपाली फिल्ममा अभिनय गरेका छन् र उनको योगदानबिना नेपाली फिल्म क्षेत्र अपूरो मानिन्छ। नवौं संस्करणको निफमा ४० देशका ८८ फिल्म प्रदर्शन गरिनुका साथै विभिन्न विषयमा १० वटा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ। साथै प्रतिस्पर्धाबाहिर चिनियाँ र रसियन फिल्महरू पनि प्रदर्शन गरिनेछन्।

कमेन्ट गर्नुहोस्