चलचित्र विकास बोर्डद्वारा नेपाली फिल्मको बक्सअफिस विवरण सार्वजनिक

फिल्म । चलचित्र विकास बोर्डले हाल फिल्म भवनमा प्रदर्शनरत नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ। बोर्डअन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ले चैत ७ गते शनिबारसम्मको कारोबार विवरण सोमबार बेलुकी सार्वजनिक गरेको हो।

माघ १६ गतेदेखि प्रदर्शनमा आएको फिल्म आ बाट आमाले १३ करोड १० लाख ९२ हजार ७७५ रुपैयाँ कमाइ गरेको छ। उक्त फिल्मका लागि ५ लाख ३ हजार ११४ टिकट बिक्री भएका छन्। चन्द्र पन्तको निर्देशनमा बनेको यस फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट र बेगम नेपालीलगायत कलाकारको अभिनय रहेको छ।

माघ २३ गतेदेखि प्रदर्शनमा आएको फिल्म कुमारीले ६६ लाख २५ हजार ४५१ रुपैयाँ कमाइ गरेको छ भने २० हजार ८१७ टिकट बिक्री भएका छन्। दिनेश राउतको निर्देशनमा बनेको यस फिल्मले अपेक्षाकृत व्यापार गर्न सकेन। जेन–जी पुस्ताको प्रेम कथामा आधारित फिल्मले दर्शकबाट कमजोर प्रतिक्रिया पाउँदा व्यापारमा असर परेको देखिएको छ।

उही मितिबाट प्रदर्शनमा आएको अर्को फिल्म रमिताको पिरतीले ३० लाख ८४ हजार ८४३ रुपैयाँ कमाइ गरेको छ। फिल्मका लागि ९ हजार ९७५ टिकट बिक्री भएका छन्। सुदीप्ता अधिकारीको निर्देशनमा बनेको यस फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाए पनि व्यापार सन्तोषजनक हुन सकेन।

फागुन १५ गतेदेखि प्रदर्शनमा आएको फिल्म प्रवासी जीवनले अत्यन्त न्यून व्यापार गरेको छ। श्याम क्षेत्री र राम अधिकारीको संयुक्त निर्देशनमा बनेको यस फिल्मले १ लाख ४४ हजार २७० रुपैयाँ कमाइ गरेको छ भने ५२९ टिकट मात्र बिक्री भएका छन्। फिल्ममा राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेतलगायत कलाकारको अभिनय रहेको छ।

फागुन २९ गतेदेखि प्रदर्शनमा आएको फिल्म लालिमाको व्यापार पनि कमजोर देखिएको छ। रोशन मिराजको निर्देशनमा बनेको यस फिल्मले ५ लाख २९ हजार ७३८ रुपैयाँ कमाइ गरेको छ भने २ हजार ४० टिकट बिक्री भएका छन्। बोर्डले पछिल्ला केही महिनादेखि नेपालमा प्रदर्शन भइरहेका स्वदेशी फिल्महरूको बक्स अफिस विवरण हरेक सोमबार सार्वजनिक गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्