प्रशान्तको निधनले सरेको हो ‘मातृभूमि’ ?

फिल्म । अभिनेता सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ को शीर्षक परिवर्तन गरी ‘मातृभूमि’ राखिएको छ । प्रारम्भमा अप्रिलको सुरुवातमै प्रदर्शन गर्ने तयारी गरिए पनि स्क्रिप्टमा आवश्यक परिवर्तनका कारण फिल्मको रिलिज मिति पछाडि सारिएको बताईको छ।

भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार फिल्म ढिलाइ हुनुको एउटा प्रमुख कारण अभिनेता तथा गायक प्रशान्त तामाङको असामयिक निधन पनि हो ।

स्रोतका अनुसार तामाङलाई फिल्ममा मुख्य खलनायकको भूमिकाका लागि अनुबन्ध गरिएको थियो । उनले केही महत्वपूर्ण दृश्यको छायांकन गरिसकेका थिए, तर जनवरीमा उनको निधन भएपछि बाँकी दृश्यहरू अधुरै रहेका छन् ।

निर्माताले सुरुमा तामाङका दृश्य पुनः छायांकन गर्ने विकल्प पनि विचार गरेका थिए । तर ठूलो स्तरका एक्सन दृश्य पुनः निर्माण गर्नु आर्थिक तथा व्यवस्थापन दुवै दृष्टिले जटिल हुने देखिएको छ । यसका साथै अभिनेता सलमान खानको समय तालिका मिलाउनुपर्ने र उनको लुकको निरन्तरता कायम राख्नुपर्ने चुनौतीले पनि निर्माण टिमलाई थप समस्या परेको बताइएको छ।

एक चरणमा तामाङको भूमिकामा अर्को कलाकार ल्याउने वा भीएफएक्स तथा एआई प्रविधिमार्फत उनको अनुहार प्रयोग गर्ने विकल्पसमेत छलफलमा आएको छ । यद्यपि, यसका लागि परिवारको सहमति आवश्यक पर्ने बताइएको छ । साथै, निर्माण पक्षले प्रशान्तका सम्पूर्ण दृश्यलाई अर्कै कलाकार राखेर छायांकन गर्ने विषयमा समेत संवाद गरिरहेको बताइएको छ ।

फिल्मको छायांकन सम्पन्न गरी पोस्ट-प्रोडक्सनमा लैजानु अघि यसै महिनाको अन्त्यसम्म अन्तिम निर्णय लिने तयारी गरिएको छ । हालसम्म नयाँ प्रदर्शन मिति तय गरिएको छैन, तर स्वतन्त्रता दिवस आसपास रिलिज गर्ने लक्ष्य राखिएको स्रोतले जनाएको छ ।

अपूर्व लाखियाको निर्देशनमा बनेको फिल्म ‘मातृभूमि’मा चित्राङ्गदा सिंह पनि मुख्य भूमिकामा छिन् । सुरुमा सन् २०२० को भारत-चीन गलवान संघर्षमा आधारित भनिएको यो फिल्मलाई अहिले ‘मे वी रेस्ट इन पिस’ ट्यागलाइनसहित नयाँ ढंगले प्रस्तुत गर्ने तयारी गरिएको छ ।

कमेन्ट गर्नुहोस्