नयाँ संस्करणमा ‘उडी जाउँ भने, म पन्छी होइन’

फिल्म । नेपाली फिल्म ‘परालको आगो’ को गीत ‘उडी जाउँ भने, म पन्छी होइन’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत र बालकलाकार मञ्जिला बानियाँ देखिएका छन् । गीतमार्फत आफू बसेको स्थानभन्दा आफूले माया गरेको ठाउँमा जान चाहने भाव प्रस्तुत गरिएको छ, जसलाई सुहाना थापाले भावुक अभिनयमार्फत अभिव्यक्त गरेकी छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्।

नेपाली सङ्गीतकी चर्चित संगीतकार शान्ति ठटालको संगीत रहेको गीतमा निशु शर्माको स्वर छ भने शब्द मनबहादुर मुखियाले लेखेका हुन्। यो गीतको मूल संस्करण प्रसिद्ध गायिका अरुणा लामाले करिब चार दशकअघि गाएकी थिइन्। निर्माण टिमले गीतलाई अरुणा लामाप्रति समर्पित गर्दै पुनः प्रस्तुत गरेको जनाएको छ। गीतको संगीत संयोजन बिनोद भुजेलले गरेका छन्।

गुरुप्रसाद मैनालीको चर्चित कृति ‘परालको आगो’ बाट प्रेरित फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बालकलाकार मञ्जिला बानियाँ लगायत कलाकारको अभिनय रहेको छ । हरि ॐ सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा सुशील पोखरेलको लगानी रहेको छ भने पटकथा तथा संवाद सुशील देवकोटा ले लेखेका छन् । फिल्मका निर्देशक लक्ष्मण सुनार हुन् ।

फिल्ममा छायांकन संकल्प भुजेल, सम्पादन मिलन श्रेष्ठ र रङ संयोजन कनाल कँवरले गरेका छन्। यसैगरी भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् भने टिजर तथा ट्रेलर सम्पादन साहिल खानको रहेको छ। मिक्सिङ मुकेश शाहले गरेका छन् भने निर्माण संयोजन नगेन्द्र घिमिरेले सम्हालेका छन्।

फिल्मको पाश्र्व संगीत किरण तुलाधरको रहेको छ भने संगीतमा शान्ति ठटाल, सत्य स्वरुप आचार्य र प्रकाश सपुतको योगदान छ। गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका छन्। फिल्मको कला निर्देशन प्रतिक चौधरीले गरेका छन् भने मुख्य सहायक निर्देशक करणबहादुर साउद रहेका छन्।

कमेन्ट गर्नुहोस्