ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’को शुभारम्भ

ओटीटी । नेपालमा नयाँ नेपाली ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’ को औपचारिक शुभारम्भ गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संयुक्त रूपमा प्लेटफर्मको उद्घाटन गरेका हुन् । ‘युएनए डिजिटल’ शुभारम्भ भएसँगै हलमा फिल्म तथा सिरिज हेर्न नपाएका दर्शकले अब ओटीटीमार्फत सामग्री हेर्न सक्ने सुविधा पाउने भएका छन् । यस प्लेटफर्मले नेपाली कन्टेन्टलाई विश्व बजारसम्म पुर्‍याउने लक्ष्य लिएको आयोजकको विश्वास छ ।

यस ओटीटी प्लेटफर्मका सीईओ, फिल्म वितरक तथा निर्माता उज्वल गुरागाईं हुन्। उनका अनुसार आगामी फेब्रुअरी १ (माघ १८) देखि दर्शकले ‘युएनए डिजिटल’मा फिल्म, शो तथा ओरिजिनल सिरिज हेर्न पाउनेछन्। सोही मितिदेखि प्रयोगकर्ताले एप्पल आईओएस, गुगल प्ले स्टोर, ब्राउजर तथा टिभी संस्करणमार्फत प्लेटफर्म प्रयोग गर्न सक्नेछन्।

शुभारम्भसँगै ‘युएनए डिजिटल’मा आशिष ढकालको सिरिज ‘सम्बन्ध तिम्रो मेरो’, ‘क्राइम इन स्टोरी’, तथा अभिनेता सलोन बस्नेतको निर्माणमा तयार हुँदै गरेको फिल्म ‘रुम नम्बर ८’ प्रदर्शनमा आउने जानकारी दिइएको छ । ‘रुम नम्बर ८’ ओटीटीमार्फत रिलिज हुने पहिलो फिल्म हुने जनाइएको छ। त्यसैगरी, सीईओ गुरागाईंले निर्माण गर्न लागेको ‘रियल रिदम’, यसै कम्पनीद्वारा निर्मित सिरिज ‘चोइज’, ‘सिनेपट न्युज’, आयुषा महर्जनको होस्टमा ‘चेलीबेटी’ र ‘काठमाडौं नाइट’ पनि यही प्लेटफर्मबाट प्रसारण हुनेछन् ।

निर्माण पक्षका अनुसार नेपाल र विदेशका लागि फरक-फरक ओटीटी विन्डोसहित कन्टेन्ट क्रमशः सार्वजनिक गरिनेछ । सब्सक्रिप्सन शुल्कबारेको जानकारी चाँडै सार्वजनिक गरिने जनाइएको छ। नेपाली सामग्रीसँगै भारतीय, बंगलादेशी र जापानी कन्टेन्ट पनि क्रमशः प्लेटफर्ममा समावेश गरिने सीईओ गुरागाईंले जानकारी दिए।

कमेन्ट गर्नुहोस्