‘सफलता हाम्रै हो’

फिल्म । हाँस्य कलाकार हरिवंश आचार्यको ६३ औं वर्षमा प्रवेश गरेका छन् । वि.सं २०१४ साल कात्तिकको २७ गते जन्मिएका हरिवंश नेपाली हाँस्य व्यङ्ग्य क्षेत्रमा सबैले उच्च स्थानमा राखेको नाम हो । हरिवंशको जन्मदिनको अवसर पारेर रेडियो अडियोले आयोजना गरेको कार्यक्रममा नेपाली हाँस्यब्यङ्ग्य क्षेत्रका अधिकांश परिचित अनुहारको उपस्थिती थियो । नयाँ बाँनेश्वरमा आयोजना भएको जन्मदिन सेलिव्रेश कार्यक्रममा हरिवंश भावुक देखिए ।

छेउमै रहेका मदनकृष्ण श्रेष्ठको कुरा सुनिसकेपछि हरिवंशले भने–‘मलाई पहिले–पहिले मह संचार भनेको थोरै मानिसहरुको समुह मात्र लाग्थ्यो । तर, अहिले त मह संचार सबैको परिवार भएको छ ।’ नेपाली फिल्म क्षेत्रमा नै हाँस्य चलचित्रको रस गडेको भन्दै हरिवंशले यो कुराले आफूलाई झनै उर्जा मिल्ने बताए । उनले, फिल्मी क्षेत्रका लागि सुनौलो यूग सुरु हुन लागेको समेत तर्क गरे । क्लिन फिड लाग्नु, विदेशी फिल्ममाथि कोटा प्रणालीको कुरा आइरहनुले पनि अब यो क्षेत्र झनै बलियो हुने उनको दाबी थियो ।

‘हामीले कसैको सफलतामा डाहा गर्ने भन्ने कुरा नै आउँदैन । अहिले त जो सफल भएपनि हामीहरु नै सफल भएजस्तो लाग्छ ।’ उनले भने । यस्तै, मह जोडीका ‘म’ अर्थात मदनकृष्ण श्रेष्ठले आफू र हरिवंशको मित्रता एउटा इतिहास भएको बताए । उनले भने–‘मेरो र हरिवंशको मित्रतालाई अब कसैले पनि छुटाउन सक्दैन । अब, जती बर्ष यो मित्रता रहन्छ एउटा इतिहास बनेर रहन्छ ।’

जन्मदिन सेलिव्रेशन कार्यक्रममा हाँस्य कलाकारहरु किरण केसी, दिपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, कुञ्जना घिमिरे, सन्दिप क्षेत्री, हरिवंशकी पत्नी रमिला, नायिका आँचल शर्मा लगायत उपस्थिति रहेको थियो । जन्मोत्सवमै हाँस्य कलाकार केदार घिमिरे, दीपाश्री निरौलाले ‘हरि भजन’ प्रस्तुत गरेका थिए ।

कमेन्ट गर्नुहोस्